बिरगंज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा उल्लेख्य रूपमा एलोपेथिक औषधि आयात भएको छ । साउनदेखि माघसम्मको सात महिनाको अवधिमा १६ अर्ब ७९ करोड रुपैयाँ बराबरको औषधि भारत तथा तेस्रो मुलुकबाट आयात भएको हो ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्षमा एलोपेथिक औषधिको आयात १७ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको यसै अवधिमा १४ अर्ब ४१ करोड रुपैयाँ बराबरको एलोपेथिक औषधि आयात भएको थियो । तुलनात्मक रुपमा गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा २ अर्ब ३८ करोड रुपैयाँ बराबरको एलोपेथिक औषधि आयात भएको छ ।
नेपाल औषधि व्यवसायी संघ पर्साका वरिष्ठ उपाध्यक्ष विश्वराज गौतम स्वदेशी औषधिले देशको कूल औषधि बजारको झन्डै ६० प्रतिशत हिस्सा ओगटे पनि अझै ४० प्रतिशत बजार विदेशी औषधिकै रहेको बताउँछन् ।
यसको प्रमुख कारण कतिपय औषधि अझै पनि स्वदेशी औषधि उद्योगहरूले उत्पादन गर्न नसक्नु नै रहेको गौतम बताउँछन् । ‘विशेष गरी भेन्टिलेटर तथा आईसीयूमा प्रयोग हुने औषधि स्वदेशमा उत्पादन हुँदैनन्,’ उनले भने, ‘यसका लागि विदेशी औषधिमाथिको निर्भरता बाध्यात्मक छ ।’
नेपालमा हाल १ सय १३ एलोपेथिक औषधि उत्पादक उद्योग सञ्चालनमा रहेका छन् । तैपनि कतिपय औषधि यी उद्योगले उत्पादन गर्न सकेका छैनन् । नेपालमा सर्वाधिक भारतबाट औषधि आयात हुन्छ । भारतपछि बंगलादेश, सिंगापुर आदि देशबाट औषधि आयात हुने गरेको छ ।
सीमावर्ती बजारका कतिपय औषधि पसलले औषधि व्यवस्था विभागले आयात अनुमति नदिएका औषधिसमेत अवैध रुपले भित्र्याएर बिक्री वितरण गर्ने गरेका छन् । केही चिकित्सकले नै यस्ता औषधि सिफारिस गर्ने प्रवृत्तिले अवैध रूपमा भित्रिने भारतीय औषधिले प्रश्रय पाउने गरेका हुन् ।