काठमाण्डाै । जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको चुनावका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री कार्यदलमा हुनुहुन्छ ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अहिलेको बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको हो ।
चुनाव र पुनर्निर्माणका लागि केही बजेट चाहिन्छ, त्यसका लागि स्रोत जुटाउन अहिलेकै बजेटभित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ र सम्भावनाका क्षेत्र कुन–कुन छन् भनेर अध्ययन गर्नका लागि कार्यदल बनाइएको प्रवक्ता पाण्डेयले बताउनुभयो । बजेटमा परेका केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने अवस्था आउनसक्ने पनि उहाँको भनाइ छ । त्यसको प्राथमिकता निर्धारण गर्ने कार्याधिकार कार्यदलले पाएको छ ।
हिजो कार्यभार सम्हाल्दै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबावमा बजेटमा परेका, पूर्वतयारी नसकिएका, टुक्रे योजना तथा कार्यक्रम कटौती गरिने बताउनुभएको थियो ।
सरकारले पूरक बजेट नल्याउने र अहिलेको बजेटमा परेका योजना तथा कार्यक्रम कटौतीबाटै पुनर्निर्माण र चुनावका लागि झन्डै १ खर्ब रुपैयाँ बराबर स्रोत जुटाउन सकिने अर्थमन्त्री खनालको भनाइ थियो ।