काठमाडौं । भदौ २३ र २४ गतेको हिँसाले विध्वंश मच्चाउँदा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित सयौं सरकारी कार्यालय खरानीमा परिणत भएको छ । ऐतिहासिक सिंहदरबार खण्डहर बनेको छ भने अन्य मन्त्रालयमा पनि क्षति पुगेको छ ।
त्योसँगै मन्त्रालयमा भएका गाडीहरु पनि जलेर कामै नलाग्ने बनेको छ । सिंहदरबार र आसपासका निकायमा ४४१ वटा चार पाङ्ग्रे सवारी साधन नष्ट भएको छ । त्यसैगरी, ६०१ वटा दुई पाङ्ग्रे सवारी साधन बालिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ४७ वटा चार पाङ्ग्रे र ७४ वटा दुई पाङ्ग्रे गाडी जलाइएको छ ।
अर्थ मन्त्रालयमातहतको ३६ वटा साना गाडी जलेर बेकामे बनेको छ । त्यस्तै, ५४ वटा मोटरसाइकल–स्कुटरमा क्षति पुगेको छ । गृह मन्त्रालयको २५ वटा चार पाङ्ग्रे र ३० वटा दुई पाङ्ग्रे सवारी साधन जलाइएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयको ९ वटा साना गाडी र ३९ वटा मोटरसाइकल–स्कुटरमा आगजनी गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत ३३ वटा साना गाडी र दुई वटा बस जलेको छ । त्यस्तै, ३६ वटा दुई पाङ्ग्रे सवारी साधन पनि बालिएको छ । प्राप्त तथ्याङ्कअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २६ वटा साना गाडी र ४७ वटा दुई पाङ्ग्रे सवारी साधन ध्वस्त भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत १९ वटा साना गाडी जलाइएको छ भने २३ वटा दुई पाङ्ग्रेमा आगो लगाइएको छ । संघीय संसद्अन्तर्गत जल्ने साना गाडीको संख्या १८ र दुई पाङ्ग्रेको ३६ रहेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत १७ चार पाङ्ग्रे र १० दुई पाङ्ग्रे सवारी साधन जलेका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सबै साना गाडी सुरक्षित छन् । ९ वटा दुई पाङ्ग्रे सवारी जलेको तथ्याङ्कमा उल्लेख छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानाको १८ चार पाङ्ग्रे र २९ दुई पाङ्ग्रे सवारी साधन जलेको छ । सर्वोच्च अदालतमा जलेका दुई पाङ्ग्रे सवारी साधन गन्न सकिएको छैन ।
५१ वटा साना गाडी जलेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत २२ वटा साना र १४ वटा दुई पाङ्ग्रे सवारी साधन बालिएको छ । शहरी विकास तथा भवन निर्माण विभागका ५० वटा साना गाडी जलेको छ । दुई सय दुई पाङ्ग्रे सवारी साधन ध्वस्त भएको अनुमान लगाइएको छ ।
सडक विभागअन्तर्गत ६५ वटा साना गाडी जलाइएको छ । दुई पाङ्ग्रेको हकमा गन्न नसकिने संख्यामा रहेको जनाइएको छ । महान्यायाधिवक्ताको कार्यालयअन्तर्गत दुई वटा साना गाडी र एउटा बस जलेको छ ।