ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय समिति बैठकमा धारिलो अभिव्यक्ति दिँदै नेतृत्व, अनुशासन, गठबन्धन नीति, भातृ संस्था तथा संगठनात्मक एकताप्रति गम्भीर प्रश्न उठाएका छन्।
सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै डा. कोइरालाले सभापति शेरबहादुर देउवाको पार्टी एकता कायम गर्ने भनाइको स्वागत गर्दै केही तीतो यथार्थ पनि प्रस्तुत गरे। “म सुरु देखिनै पार्टी एक ढिक्का होस् भन्ने मान्यता राख्ने व्यक्ति हुँ,” भन्दै कोइरालाले स्पष्ट पारे।
महाधिवेशन र पार्टी नेतृत्वको जवाफदेहीता
डा. कोइरालाले १५औं महाधिवेशन मंसिरमै हुनुपर्ने अडान दोहोर्याउँदै महाधिवेशन नहुने हो भने त्यसको चित्त बुझ्ने कारण सार्वजनिक गर्न नेतृत्वसँग माग गरे। “महाधिवेशनका लागि पदाधिकारीहरू लागिपरेको देखिए पनि स्पष्ट कार्ययोजना देखिँदैन,” उनले उल्लेख गरे।
गठबन्धनको राजनीति र पार्टीको हैसियत
गठबन्धनको विषयमा समेत डा. कोइरालाले खुलेर असन्तुष्टि जनाउँदै २०७९ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर जानु र अहिले एमालेसँग सत्ता सहकार्य गर्नुको स्पष्ट कारण खोजे। “मैले त कांग्रेसको नेतृत्वमा एमालेसँग गठबन्धन हुनुपर्छ भनेको थिएँ, तर अहिले एमालेलाई नेतृत्व दिइयो,” उनले प्रश्न गरे।
संविधान संशोधनको मुद्धामा पनि सातबुँदे सहमति कार्यान्वयन नहुँदा सभापतिसँग चित्त बुझ्ने जवाफ माग गरे।
अनुशासनमा विभेद र निष्क्रियता
अनुशासन समितिमा निष्पक्षता र कार्यक्षमताको अभाव रहेको आरोप लगाउँदै डा. कोइरालाले केन्द्रीय समिति बाहिरका वरिष्ठ नेताहरूलाई समितिमा समावेश गर्न सुझाव दिए। “एउटै विषयमा कसैलाई सचेत, कसैलाई निलम्बन गर्ने विभेद किन?” उनले सोधे।
संगठनात्मक कमजोरी र गुटगत विभाजन
पर्सा–१, बारा–२, तनहुँ–१, चितवन–२ लगायतका निर्वाचन क्षेत्रमा गठबन्धनकै कारण योग्य उम्मेदवारहरू वञ्चित भएको उल्लेख गर्दै कोइरालाले गठबन्धनको नाममा पार्टी हितमा आँच पुर्याउने निर्णयप्रति आक्रोश व्यक्त गरे। “जुन उम्मेदवारले स्वतन्त्र लडेर २० हजारभन्दा बढी मत ल्याउँछन्, उनैलाई अनुशासनको नाममा कारवाही किन?”
भातृ संस्था र अधिवेशनको अलमल
नेविसंघ, तरुण दल, महिला संघ र दलित संघका अधिवेशनबारे पनि डा. कोइरालाले नेतृत्वको लाचारीप्रति असन्तुष्टि जनाए। "तरुण दल अनसनमा छ, नेविसंघ प्रदर्शन गरिरहेको छ, तर नेतृत्व मौन छ," उनले कटाक्ष गरे।
महिला संघको अधिवेशन सम्भव नभएको स्पष्ट संकेत गर्दै उनले पुरानो सदस्यता नविकरण नहुँदासम्म अधिवेशन सम्भव नरहेको बताए। ईलाममा महिला माथि हातपातको घटनालाई गम्भीर रूपमा लिएर पार्टी सभापतिले ध्यान दिनुपर्ने उनले बताए।
अन्त्यमा उनले पार्टीभित्रको एकता र भद्रतालाई आफ्नो विशेषता ठानेको बताउँदै डा. कोइरालाले भनाइको अन्त्यमा भने, “मैले कहिल्यै फरक मत राखिन, तर मेरो सहनशीलतालाई कमजोरी ठानियो।”
उनको यो धारिलो आवाजले नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तोष, गुटबन्दी र नेतृत्वप्रति असहजता पुनः सतहमा ल्याएको छ।