पर्सा । जलवायु परिवर्तनका कारण देखिएको खडेरी तथा भूसतहमा पानीकाे मात्रा जाँदा चापाकलमा पानी आउन छाडेपछि खानेपानीको चरम अभावले वीरगञ्जवासीको जनजीवन प्रभावित भएको छ।
वीरगञ्ज महानगरमा चुलिँदो खानेपानीको सङ्कटको गम्भीरतालाई दृष्टिगत गर्दै खानेपानीको सङ्कटको तत्कालीन तथा दीर्घकालीन समाधानका लागि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार सर्वपक्षीय बैठक बसेको थियो।
बैठकमा खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि वीरगञ्जमा एशियाली विकास बैंकको सहयोगमा चार अर्ब ५० करोड रुपियाँको हाराहारीमा बृहत् खानेपानी आयोजना सञ्चालनमा रहेको जानकारी दिनुभयो।

उहाँले खानेपानीको चरम अभाव पर्सा, बारा रौतहट जिल्ला देखिएकाले स्थानीय बासिन्दासँग धैर्य अपनाउन आग्रह गर्दै समस्याको समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा काम भइरहेको बताउनुभयो।
नगरप्रमुख राजेशमान सिंहले वीरगञ्ज महानगरपालिकाले ट्याङ्कर र वरूण यन्त्रबाट दैनिक सरदर एक लाख ५० हजार लिटर खानेपानी बितरण गर्दै आएको बताउनुभयो। उहाँले महानगरपालिकाले धारा जडानलाई प्रोत्साहन कार्यक्रम र विभिन्न वडामा डिप बोरिङको पहल भइरहेको जानकारी दिनुभयो।
जनमत पार्टीका अध्यक्ष ओमप्रकाश सर्राफले विगत तीन वर्षदेखि गर्मी याममा पानी नपरेर र चापा कल सुकेपछि पानीको हाहाकार मचिँदा पनि सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो।
यसैबीच खानेपानीको नयाँ लाइन लिन वडा कार्यालयबाट सिफारिसको नाममा मनपरी शुल्क असुल्ने काम भइरहेको गम्भीर आरोप स्थानीयहरूले गरेका छन्। पानीको चरम अभावको समस्यामा परेका नगरबासीले खानेपानी संस्थानलाई शुल्क तिरेर सेवा लिँदा वडा कार्यालयबाट थप शुल्क लिन अनुचित रहेको सुबोधकुमार चौधरीको भनाइ छ।