नेपालीमा एउटा चर्चित उखान छ,‘काम गर्ने कालु,मकै खाने भालु ।’ यो उखान जेनेरेशन जेड अर्थात ‘जेन–जी’ आन्दोलनसँग मेल खान पुगेको छ । जेन–जी आन्दोलनको नेतृत्व गरेका युवक बेपत्ता हुँदा हामी नेपालीका अध्यक्ष सुदन गुरुङ्ग एकाएक चर्चामा छन् । आन्दोलनको बेला माइतीघर मण्डलामा पानी बाँड्दै गरेका र खासै नाम नसुनिएका गुरुङ्गले अहिले आफूलाई अगुवाको रूपमा प्रस्तुत गरिरहेका छन् ।
गोर्खाली गुरुङ्ग पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ खाँदा खुट्टा ढोग्न पुगेका थिए । हाल सामाजिक सञ्जालमा जेन–जीका वास्तविक अगुवाको खोजी हुन थालेको छ । ती युवकको तस्विर पोष्ट गरेर धुइँधुइँती खोजी गरिएको छ । अञ्जना साह रावल भन्छिन्,‘अब असली जेन्जी खोजौं । कहाँ छ यो भाइ ? आन्दोलनको दिनदेखि किन कहीँ देखिँदैन ?’ विनोद विक्रमजंग केसीले उनको तस्विर सेयर गर्दै लेखेका छन्,‘उनी कहाँ छन् ?’ निरज उप्रेतीले जेन–जीको रगतमाथि गद्दारी भएको बताएका छन् ।
‘जेन–जीको रगतमाथि गद्दारी भयो ठूला बडाबाट',उनको भनाइ छ ।
जेन जी पल्टी : सुल्टो कि उल्टो ?
‘एक जुगमा एक दिन एकचोटि आउँछ, उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ’ गीत मात्र होइन रहेछ । भदौ २३ र २४ मा देशमा जे–जति उत्पात् भए, कसैले सोचेकै थिएन । क्षणभरमा देशका महत्वपूर्ण भवन जलाएर भग्नावशेष बनाइएको छ । उक्त विध्वंसले सिंगो देश र राज्यव्यवस्थामा ठूलो संकट ल्याइदिएको छ । तर देशको यो पल्टी कतापट्टि ? अगाडि कि पछाडि ? देश अब दुईदेखि तीन दशक पछाडि धकेलिएको राजनीतिक विश्लेषकहरूको निचोड छ ।
हुन पनि अधिकांश सरकारी संरचना देशैभर ध्वस्त पारिएका छन् । सिंहदरबारदेखि वडा कार्यालयसम्म आक्रमणबाट बचेन । भेटेजति नेता अनि उद्योगी, व्यवसायीलाई समेत छानीछानी निशाना बनाइयो । भरतपुरमा खरानी बनाइएको मीनबहादुर गुरुङको भाटभटेनीबाट दुई दिनसम्म धुवाँ पुत्याइरहेको थियो ।
जेन जीको नाममा भएका आगजनी, तोडफोड तथा विध्वंसात्मक गतिविधिबाट सरकारी र निजी सम्पत्ति मात्र खरानी र भताभुङ्ग भएन, उक्त हुलदंगामा छ दर्जनको संख्यामा नागरिकको ज्यान गएको छ । सयौँ घाइते भएका छन् । तर जेन जी प्रदर्शन भनिए पनि त्यसमा राजावादी र रास्वपाले खेल्ने मौका पाए । रवि लामिछाने निकालिएसँगै देशभरका जेलबाट १० हजारभन्दा बढी कैदीबन्दी फुत्किएका छन् । तीमध्ये कैयौँ अब उही राजावादी समूहमा मिसिएर देशमा फेरि आतंक मच्चाउन सरिक हुनसक्ने थप खतरा बढेको छ ।
राजा पुनः सत्ता हत्याउन जस्तोसुकै उत्पात, रक्तपात मच्चाउन तयार रहेको विश्लेषण गरिन्छ । गत चैत १५ गते पनि राजधानीमा राजावादीहरूले ठूलो विध्वंस गरेका थिए । मौका पाउनासाथ हमलाको तीव्र पर्खाइमा रहेको छ राजावादी समूह । अहिलेको घटना पनि त्यसैको एक रूप प्रदर्शित हो ।
भरतपुरमा जिल्ला प्रहरी कार्यालय अगाडि र वरपर हजारौँको संख्यामा आएका प्रदर्शनकारीहरूले विध्वंस मच्चाउने क्रममा एउटा मेसिनगाडीसमेत ल्याएका थिए । लाठीमुङ्ग्रो बोकेका युवाहरू त्यसमा सवार थिए, जसमा एउटाले लगाएको सेतो नकाब झट्ट देख्दा स्थानीयले पूर्वयुवराजको अनुहारसँग दाँजेका थिए । ती युवकले टाउको हल्लाउँदा ती युवराजले ‘बल्ल ठीक भो’ भन्ने भावमा शानसँग टाउको हल्लाएको जस्तो देखिन्थ्यो ।
राजासमूह आफ्नो सत्ता फर्किन्छ भने देश जले पनि, रगतैको खोलो बगे पनि रमाएर लाग्नेछ । रगतको खोलै बगाएर सत्तासीन भएका दलका नेताहरू पनि सत्तामै रमाउँदै त्यसैमा मरिहत्ते गर्दा देशमा भ्रष्टाचार अचाक्ली र असह्य नै भएको थियो, जनता भ्रष्टाचारदेखि निकै आजित थिए । मात्र दुई दिनको आन्दोलनले प्रधानमन्त्रीको राजीनामा र यत्रो संसद् विघटनतर्फ देश अग्रसर हुनु हत्तपत्त भइहाल्ने सामान्य घटनाक्रम होइन ।
तर अबको सरकारचाहिँ भनेजस्तो राम्रो भई छुमन्तरझैं गरी देश एकाएक जापान, चीनजस्तो भइहाल्ला भन्ने ग्यारेन्टी के छ ? केवल कामना मात्र गर्न सकिन्छ । सत्तामा सही भिजन भएको इमानदार व्यक्ति पुगेर अरू मुनिका मन्त्री र कर्मचारी तथा सरकारी प्रतिनिधिहरू पनि सबै इमानदारिताका साथ देश र जनताको हितमा एकढिक्का भएर काम गर्ने हो भने, हिजोसम्म भ्रष्टाचारमा जकडिएको मुलुक भोलि छिट्टै सुशासन र विकासमा नमूना बन्न नसक्ने होइन । राजनीतिमा यस्तै उत्पात र चमत्कार पनि हुन बेर लाग्दैन । त्यसैले नेताहरू जनतालाई ठूल्ठूला दिवास्वप्न र आश्वासनमा भुलाउँछन् । विश्वास नगर्ने पनि कसरी ? विश्वमा यस्तै विभिन्न राजनीतिक उथलपुथल र उलटपुलटसँगै युगान्तकारी परिवर्तन भएर समृद्धशाली भएका मुलुक पनि छन् । विनाश नभई विकास हुँदैन भन्ने पनि छ । तर भत्काउन जति सजिलो छ, बनाउन उति नै बढी गाह्रो हुने तथ्य साथमै छ ।
भीडको बलमा जे पनि हुन सक्ने रैछ, जनता भेडा बन्नुभएन । बहुदलीय व्यवस्थाको दुरुपयोग अब नहोस् । संगठनलाई भीडको शक्तिसमूह बनाएर सत्ता, सम्पत्ति हत्याउने र देशमा हालीमुहाली गर्ने प्रपञ्च अब फेरि कसैबाट नहोस् ।
आशा गरौं अब फेरि देशमा आगजनी र रक्तपात वा यस्तो कुनै विध्वंस नहोस् । अहिलेको घटना नोक्सानपूर्ण र दुःखदायी मात्रै होइन, भ्रष्ट नेताहरूलाई ठूलो चेतावनी पनि हो । यसले आगामी दिनमा नेता र कर्मचारीहरू भ्रष्टाचार र अनियमितता वा पदको दुरुपयोग गर्न डराउलान् कि ?
तर सुख पाएपछि दुःख बिर्सने, मौकामा चौका हान्न लागिहाल्ने मान्छेको नराम्रो बानी हुन्छ । विगतको दुःख भुलेर सुखमा फेरि मैमत्त हुने धेरैभन्दा धेरै मान्छेको साझा प्रवृत्ति जस्तै देखिन्छ । तर अहिले नेताहरूको कम्ती बिजोगचाहिँ भएको छैन । अब त भ्रष्टाचार गरी पुस्तौँ पुस्तालाई पुग्ने रुपैयाँ र सुन लुकाएर राख्न छोड्लान् भन्ने हो । नत्र फेरि मान्छे नै जिउँदै नजलाउन् भन्न सकिने अवस्था छैन । त्यसैले नयाँ पुस्ताको असन्तुष्टि तत्काल सम्बोधन गरिनुपर्छ ।
हुनतः पार्टी र संगठनका शीर्ष नेतादेखि वडा तहका नेतासम्मको चुरीफुरी निकै थियो । कतिपयलाई उनीहरुको सेखी झर्यो होला भन्ने लाग्छ । नेताहरूको घर मात्र जलाइएन, शीर्षै नेता भकुरिए । आन्दोलनको मौका छोपी अराजक भीडले जहिल्यै प्रहरीलाई निसाना बनाउने गरेको छ । राज्यपक्षबाट गोली चल्दा आन्दोलनमा उत्रिएका केही विद्यार्थीको अघिल्लो दिन मृत्यु भएकोमा जनआक्रोश बढेको थियो । तर प्रहरीले जनप्रतिनिधि तथा नेताहरूले नै बनाएको कानुन कार्यान्वयन गर्ने र उनीहरूको आदेश मान्नुपर्ने हुन्छ । घामपानी, जाडो गर्मी केही नभनी देश र जनताको सुरक्षार्थ अहोरात्र खटिने, समाजमा आउने सम्पूर्ण कठिनाइ, आपतविपत्मा हमेसा अग्रपंक्तिमा रहेर उद्धारमा जोडिने तिनै प्रहरीलाई प्रायः हरेक आन्दोलनमा पहिलो दुश्मनझैं मानेर निसाना साँध्ने गरिन्छ ।
आन्दोलन वा जनप्रदर्शनका बेला हिंसा भड्किन र शान्ति–सुरक्षा खलबलिन नदिन लाठी र बन्दुक लिएर अग्रपंक्तिमा खटिने प्रहरीलाई उच्छृङ्खल र उद्दण्ड मानिसहरूले मौका पाउनासाथ लुक्दैछिप्दै टाढैबाट ढुंगामुढा बर्साउन थालिहाल्छन् । विदेशी सेनापुलिसमा भर्ना भएर विदेशीका लागि रगत बगाउन गएकाहरूलाई लाहुरे भन्दै उच्च सम्मान र भाउ दिइने नेपाली समाजमा हाम्रै पहरेदार जवानहरूलाई उल्टो ‘डण्ठे’ भन्दै होच्याइन्छ । प्रहरी मात्र होइन, पत्रकार र सञ्चारगृहलाई पनि आन्दोलनहरूमा योजनाबद्ध हमलाको निसाना बनाउने गरिएको छ ।
भीडको बलमा जे पनि हुन सक्ने रैछ, जनता भेडा बन्नुभएन । बहुदलीय व्यवस्थाको दुरुपयोग अब नहोस् । संगठनलाई भीडको शक्तिसमूह बनाएर सत्ता, सम्पत्ति हत्याउने र देशमा हालीमुहाली गर्ने प्रपञ्च अब फेरि कसैबाट नहोस् । जनयुद्धको जगमा, जनआन्दोलनको बलमा तानाशाही राजतन्त्र ढलेपछि नै देशमा जनता यसरी सरकारविरुद्ध खुलेआम अभिव्यक्ति र प्रदर्शनमा उत्रनसक्ने माहोल बनेको भए पनि यो अवसरलाई दुरुपयोग गर्दै आन्दोलनलाई हिंसात्मक बनाउँदै लगिएको छ । फलतः अहिले देश एक किसिमको खण्डहरमा परिणत भएको छ । अहिलेको तहसनहस र क्षतिको असर नेपालमा लामै समय पर्ने देखिन्छ । पुनर्संरचना र फेरि चुनावका लागि देशले चर्को मूल्य चुकाउनुपर्ने भएको छ । पुनर्निर्माण गर्न समय त लाग्ने नै छ । देशमा आर्थिक संकट पनि बढ्ने पक्का छ, उस्तै अवस्था आए गरीब विपन्न जनता भोकभोकै मर्नुपर्ने दिन नआउला भन्न सकिन्न ।
आशा गरौं, ‘एक जुगमा एक दिन एक पटक आउँछ’ भनेजस्तै अबबाट नयाँ उन्नतयुग प्रारम्भ होस् । पुँजीवादमा भ्रष्टाचार निश्चित छ, अब सीधै साम्यवाद र समाजवादको अभ्यास होस् । स्वास्थ्य र शिक्षा पनि अब यही बेला सरकारीकरण गरिनुपर्छ । जातीयता, धार्मिकताजस्ता विभेदपूर्ण व्यवस्था उल्ट्याउन सक्नुपर्छ । आवश्यकभन्दा बढी निजी सम्पत्ति राष्ट्रियकरण गरेर समतामूलक, समुन्नत राष्ट्र निर्माण गर्न सकियोस् । गरे के सम्भव छैन ? सबै मिलेर लाग्ने हो भने त्यति धेरै कठिनाइ पनि हुँदैन । अब विदेश भएका दाजुभाइ, दिदीबहिनीहरू समेत फर्केर आफ्नो रगत–पसिना, ज्ञान र सीपलाई देश निर्माणमै लगाऔं ।
नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा पनि बधाई र शुभकामना सन्देश दिएका छन् । त्यसअघि विदेश मन्त्रालयले शुक्रबार राति नयाँ दिल्लीबाट शुभकामना दिएको थियो । चीनको विदेश मन्त्रालयका प्रवक्ता, बेलायत र अमेरिकाले काठमाडौंस्थित दूतावासको तर्फबाट उहाँलाई बधाई दिएका छन् ।