काठमाडौं । श्रम संस्कृति पार्टी बागमती प्रदेश समन्वय समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । ‘यो देश गरिबको पनि हो’ लेखिएको ब्यानरसहित पार्टीले सुकुम्बासी तथा अव्यवस्थित बसोबासप्रति राज्यले गरेको दमनविरुद्ध खबरदारी सभा गरेको हो ।
उनीहरुले ‘यो देश गरिबको पनि हो’ ‘गाँस, बास, कपास हाम्रो अधिकार हो’, भूमिहीन समस्या दीर्घकालीन रुपमा समाधन गर’ लगायतका प्लेकार्ड बोकेर खबरदारी गरेका हुन् ।
खबरदारीमा श्रम संस्कृति पार्टीका नेता छोटे पठानले सरकारले सुकुम्बासीका घर भत्काइरहेको तर कालापानी, लिपुलेकमा अर्कोले बाटो बनाइरहेको आरोप लगाए । उनले कालापानी र लिपुलेक क्षेत्रमा भइरहेको गतिविधिप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै सीमा सुरक्षामा खटिएका नेपाल प्रहरीले विभिन्न समस्या भोग्नुपरेको बताए ।
उनले भने, ‘सुकुम्बासीको घर भत्काइरहनु भएको छ । कालापानी, लिपुलेकमा अर्कोले बाटो बनाइरहेको छ । सरकारका लागि यो विषय कति लाजलाग्दो कुरा हो । नेपालको सीमा नाकामा गएर हेर्नुस्, सीमा सुरक्षामा रहेको हाम्रो नेपाल प्रहरीले कति समस्या खेप्नु परिरहेको छ । नेपालको जग्गा कब्जा भइरहेको छ । प्रधानमन्त्री आफ्नै देशका सुकुम्बासी मेटाइरहनु भएको छ । सुकुम्बासीलाई देशमै व्यवस्थापन गर्ने हो कि चीन, जर्मनी वा जापान पठाउने हो, सरकार आफै अन्योलमा देखिएको छ ।’
उनले प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गर्दै आफ्नो परिवारको नाममा रहेको जग्गाबारे स्पष्ट पार्न पनि आग्रह गरे ।
उनले भने, ‘प्रधानमन्त्री बालेन साहज्यूलाई भन्न चाहन्छु– म पनि तपाईंको जिल्लाकै छिमेकी हुँ । तपाईं आफै भन्नुहोस्, नेपाली जनतालाई तपाईंको बाउको नाममा कति बिगाहा जमिन छ ? त्यसको लालपुर्जा छ कि छैन ? सरकार तपाईंको, व्यवस्थापन तपाईंको, नेपालको जनता तपाईंको र नेपालको जमिन पनि तपाईंको जस्तो भएको छ ।’