वीरगञ्ज । सरुवा भएर नयाँ कार्यालयमा हाजिर हुनुपर्ने कर्मचारी पुरानै स्थानीय तहमा बसिरहेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्साको जिराभवानी गाउँपालिकासहित तीन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ।
मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिका र काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गर्दै खाता सञ्चालनसम्बन्धी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार ती स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको अन्यत्र सरुवा गरिएको भए पनि उनीहरू सरुवा भएको कार्यालयमा हाजिर नभई साविककै पालिकामा कार्यरत रहँदै आएका थिए। त्यस्तै, नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई समेत सम्बन्धित पालिकाले हाजिर गराएको थिएन।
सरकारी कर्मचारीको सरुवा निर्णय कार्यान्वयन नगरेको तथा नयाँ जिम्मेवारीमा खटाइएका अधिकृतलाई कामकाजमा लगाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो कदम चालेको जनाएको छ।
मन्त्रालयले नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ। साथै, सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ।
मन्त्रालयको यो निर्णयले सरुवा आदेश कार्यान्वयन नगर्ने र नयाँ अधिकृतलाई जिम्मेवारी हस्तान्तरण नगर्ने स्थानीय तहको प्रशासनिक कार्यशैलीमाथि प्रश्न उठाएको छ।