काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
प्रहरी वृत्त मालीगाउँ काठमाडौँमा कार्यरत राउतले जाहेरवालाको रकम फिर्ता दिलाई दिन र मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको टङ्गालबाट खटिएको टोलीले २० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा सई राउतले चेक अनादर (चेक बाउन्स) बैंकिङ कसुर मुद्दाको मिलापत्र प्रक्रियामा सहजीकरण गरिदिने भनी विभिन्न बहानामा दुःख हैरानी दिई सेवाग्राहीसँग २० हजार रुपियाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २० हजार रुपियाँ कायम गरी सोही ऐनबमोजिम कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको हो।
त्यसैगरी आयोगले वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँका नायब सुब्बा हेमबहादुर मस्राङ्गीविरुद्ध पनि आजै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। नासु मस्राङ्गीले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका सिलसिलामा नासु मस्राङ्गीले वैदेशिक रोजगारसम्बन्धी मुद्दा मिलापत्रका लागि अगाडि बढेको अवस्थामा विभिन्न बहानामा दुःख हैरानी दिई तारेखमा बस्न नपर्ने, मुद्दा नचल्ने निर्णय गराई मुद्दा मिलाई दिने तथा कारबाही टुङ्ग्याउने विषयमा सहजीकरण गरिदिने भनी घुस मागेको स्थापित भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो १५ हजार रुपियाँ कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी गरिएको छ।