जेनजी आन्दोलनले देशको राजनीतिक अवस्था र व्यवस्थालाई उलटपुलट बनायो । भदौ २३ गते उनीहरूको उपस्थितिले नै सबैको मन हल्लाएको थियो । अकल्पनीय तथा अनपेक्षित प्रहरी दमनका दृश्य भयावह बनेर अझै मानिसका मन र मस्तिष्कमा आतंक मच्चाइरहेका छन् ।
देख्नेलाई त त्यस्तो छ, भोग्नेलाई के भयो होला ? कल्पना पनि गर्न सकिन्नँ । कलिला मुनाको छातीमा गोली हान्नु कुनै पनि हिसाबले सही मान्न सकिन्नँ । त्यसैले त्यो दमन हैन, कायरता थियो । जसको आदेशमा गोली प्रहार गरेको भए पनि सरकारले जिम्मा लिनै पर्छ । गृह मन्त्रीको सोही दिन र प्रधानमन्त्रीको पछिल्लो दिनमा राजीनामा आयो । जेनजीको माग सम्बोधन भएको थियो । त्यहाँ घुसपैठ भयो । २४ गते छानिछानी र ताकिताकी आगजनीका घटना भए । सेनाको आँगनमात्रै हैन, घरै रहेको सिंहदरबार र सर्वोच्च अदालत जल्यो । कैयौँ व्यक्तिका घर खरानी भए । भाटभटेनीलगायतका व्यापारिक केन्द्र ध्वस्त भए । सरकारी संरचना र सम्पत्ति त देख्नै नहुने, आगो लगाइहाल्ने दृश्य देखियो । यो सबै काम जेनजीले गरेका हुन् भनेर पत्याउने एकरत्ति पनि ठाउँ छैन ।
२४ गतेको आतंकले २३ गतेको अत्यन्त पीडादायी घटना छायामा पारिदियो । सबैभन्दा दुःखद घटना त अबोध बालबालिकाको ज्यान जानु थियो । एक दशक लागे पनि भौतिक पूर्वाधार त पुनः निर्माण होलान् । ती अवोधको ज्यान कुनै पनि हालतमा फिर्ता हुन सक्दैन ।
चर्चा गरौँ, जेनजीको आन्दोलनको पाठका विषयमा । २०५७ सालतिर हुनुपर्छ, भारतीय अभिनेता ऋत्तिक रोशनको सामान्य अभिव्यक्तिलाई लिएर काठमाडौं यसरी नै खरानी भयो । उनले नेपाली मन पर्दैन भनेकै भरमा उक्त घटना भएको थियो । उक्त आन्दोलनमा केहीको ज्यान गयो, तर यसको नेतृत्व कसैको थिएन । मुद्दा थियो, आन्दोलन भयो, तर संगठन थिएन । त्यसैले त्यो आन्दोलन कुनै निष्कर्षमा पुगेन । २३ गतेको आन्दोलन पनि त्यही हालतमा भएको थियो । उठाएका मुद्दा ठिक थिए ।
आन्दोलनमा सहभागिता पनि विशाल थियो । तर, संगठन थिएन । नेतृत्वविहीन आन्दोलन भयो । हुन त जेनजीले गरेको आन्दोलन भनियो । तर, त्यसका नेता वा नेतृत्वकर्ता कोही देखा परेनन् । २४ गतेसम्म पनि नेतृत्वविहीन नै आन्दोलन भयो । फलतः विध्वंसमा रूपान्तरण भयो । पछि सुदन गुरुङको नाम आयो, तर आन्दोलनअघि पत्रकार सम्मेलन गर्दा उनी देखिएका थिएनन् ।
तत्कालीन प्रधानमन्त्रीले राजीनामा गरेपछि उनी दृश्यमा प्रकट भए । नयाँ सरकार बनाउने सन्दर्भमा आन्दोलनकारीका रूपमा कोसँग वार्ता गर्ने भन्नेमा अन्यौलता भइरह्यो । सामान्यतया आन्दोलनपछि आन्दोलनकारीले सरकारको नेतृत्व गर्दछन् । यस पटक त्यसो भएन । किन कि, जेनजीको चाहना सरकारमा जानु नै थिएन ।
आन्दोलनको नारा ‘भ्रष्टाचारमुक्त नेपाल’ भन्ने थियो । यो मुद्दा कहिल्यै नसकिने हो । यो एक आन्दोलनले सम्बोधन हुने विषय होइन । तर, अति जरुरी मुद्दा हो । अर्को विषय, सामाजिक सञ्जाल खुला राख्नुपर्ने भन्ने हो । सरकारले नियमन गर्नका लागि सूचीकरण गर्न भनेको थियो । तर, त्यो कुरा जेनजीले बुझ्ने गरी सम्प्रेषण हुन सकेन । वा, बुझ्ने कोसिस नै गरिएन । किन कि, अरू नै दाउपेच थियो । जेनजीको नाममा अरूकै चलखेल थियो ।
आन्दोलनको पृष्ठभूमि
विगतका कुरा कोट्याएर खासै फाइदा छैन । तर, पाठ सिक्नु बुद्धिमानी हुन्छ । आन्दोलनको पृष्ठभूमिको चर्चा गर्दा केपी ओलीको चीन भ्रमणको प्रस्तुति, एमालेको विधान महाधिवेशनको चक्कर तथा व्यस्तता, राज्य संयन्त्रको सुस्तता, सुरक्षा निकायबीचको तालमेल एवं तदारुकतामा कमी, आन्दोलनलाई सामान्य रूपमा हेरिनु र दलका गतिविधिप्रति बढ्दो वितृष्णा प्रमुख कारण हुन् । त्यसै गरी सबै कुरामा नकारात्मक भावना सिर्जना हुनु, नकारात्मक कुरा रुचाइनु पनि अर्को पक्ष हो ।
उपलब्धि
जेनजीको आन्दोलन मोहरा मात्र भयो । जेनजीको एजेन्डा गलत थियो भनेर कसैले भन्दैन । तर, २४ गतेको गतिविधि जायज थियो भनेर पनि कसैले भन्न सक्दैन । यस्ता अप्रिय घटना जेनजीको टाउकोमा जबरजस्त थोपरेजस्तो भइरहेको छ । यद्यपि, यस आन्दोलनबाट एक प्रमुख र अर्को सहायक उपलब्धि देखिन्छ ।
राजनीतिक चेत
यो आन्दोलनकै कारण जेनजी पुस्तामा राजनीतिक चेत आयो । यो पुस्ता राजनीतिबाट बाहिर भयो भन्ने मुलुककै चिन्ता थियो । कहिल्यै राजनीतिप्रति चासो नराख्नेहरू अहिले खोजिनिधी गर्न लागेका छन् । युट्युबमा पुराना राजनीतिक घटनाका सामाग्री खोज्न लागेका छन् ।
मेरो घरमा छोरी र छोरा दुवै जेनजी पुस्ताका छन् । उनीहरूले मलाई सोधेका प्रश्नले उनीहरूको चासो देखाउँछ । त्यति मात्रै होइन, मलाई पनि सोच्न बाध्य बनाएको छ । उनीहरूको जिज्ञासामाथि मैले मेरा धारणा राख्ने मौका पाएको छु । छोराछोरीसँगको संवादबाट मेरा कार्यगत शैलीमा समीक्षा गर्नुपर्ने देखाउँछ । २३ गते देखि केही दिनसम्म उनीहरू रातभर सुत्न सकेनन् । सामाजिक सञ्जालबाट अपडेट लिइरहन्थे । मलाई सुनाउँथे । नबुझेको कुरा सोध्थे । यो उनीहरूको राजनीतिक चेत हो । अब यो पुस्ता राजनीतिमा आउँछ भन्ने आशा जागेको छ ।
यो पुस्ता पासपोर्ट तयार गरी भिसा कुरेर बसेको छ भन्ने भाष्य परिवर्तन हुने सम्भावना देखिन्छ । यो मुलुकको लागि सुखद पक्ष हो । अवोध बालबालिकालाई शहीद भन्नुपर्ने र आगजनीबाट मुलुक ध्वस्त हुनु अति नै पीडादायी भए पनि नयाँ पुस्ताको राजनीतिप्रति आकर्षण हुनु मुलुकको लागि राम्रो पक्ष हो । अब सबै संरचनामाथि पुस्ताको निर्णायक पहुँच हुन आवश्यक छ । उनीहरूले भविष्य देख्छन् । सोहीअनुसार योजना बनाउँछन् । हामी आधा शताब्दी नाघेकाले बनाउने योजनाभन्दा जेनजीको योजना धेरै परसम्मको हुने सम्भावना हुन्छ ।
महिला प्रधानमन्त्री
यो आन्दोलनको अर्को उपलब्धि भनेको नेपालले प्रथम महिला प्रधानमन्त्री पायो । राज्यको तीनवटै अंगमा महिलाको नेतृत्व हासिल हुनुपर्ने इतिहासले सार्थकता पाएको छ । महिला नेतृत्वको सरकारले के के गर्छ, त्यसपछिमात्रै उपलब्धिको चर्चा गर्न सकिएला ।
चुकेको अवसर
जन र धनको क्षति भयो । अर्बौँको क्षति मात्रै हैन, ऐतिहासिक धरोहर सखाप भए । यसलाई मूल्यमा हिसाब गर्न सकिन्नँ । सिंहदरबारजस्तो ऐतिहासिक ठाउँ अनि सर्वोच्च अदालत पुरानै स्वरूपमा शायदै बन्ला । यी भौतिक कुरा भन्दा पनि राम्रा अवसर गुमे । जेनजी आन्दोलनको पक्षका तर्फबाट जो–जो अन्तिममा वार्तामा बसे । केही अवसर सदुपयोग गर्न सकेनन् । अब फागुनमा चुनाव भयो भने यही संविधानअनुसार हुने हो । अहिलेको चुनावी प्रणालीबाट एकल बहुमत आउन मुस्किलै छ । फेरि मुलुकमा अस्थिरता नै रहने भयो । गठबन्धनको संस्कृति कायम रहने भयो ।
वार्ताको क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने अवसर थियो । निर्वाचन प्रणाली सुधार्नुपर्ने थियो । यी र यस्ता विषयमा संविधान संशोधन गरेर मात्र निर्वाचनमा जाँदा मुलुकले निकास पाउने थियो । त्यो अवसर गुमाइयो । राजनीतिक दललाई वर्गीय शत्रुजस्तो मानियो । जेनजीहरु पनि कुनै राजनीतिक दलमा आबद्ध भएकाहरूकै सन्तान हुन् भनी चटक्कै बिर्सियो । घरघर, टोलसम्म नशाजस्तो संरचना भएका राजनीतिक दलहरू मुलुकको शक्ति हो भन्ने कुरा भुलियो । संसद विघटन मात्रै सर्त राखियो । संविधान संशोधनको सर्त राख्नुपर्ने थियो । निश्चित विषयमा केही दिनभित्रै संविधान संशोधन गरेर संसद विघटन गर्ने सम्झौता गर्न सकिन्थ्यो । अनि चुनावमा गए भइहाल्थ्यो । त्यसमा चुक्यो । राजनीतिक दल र उनीहरूको प्रतिनिधित्व रहेको संसदलाई बाधक मानियो । संसदबाटै निकास निकाल्न सकिएला कि भनी सोच्दै सोचिएन । आन्दोलनको रापमा संसदलाई अनुकूल प्रयोग गर्नसक्ने अवसर गुम्यो । अहिले संविधान कायम छ । संसद छैन । सर्वोच्चमा मुद्दा परिहाल्छ । त्यसपछि के होला ? कतै मुलुक अँध्यारोको भुमरीमा त फस्दै छैन ?
सम्भार: नेपाल प्रेस