नेपालको समकालीन राजनीति हेर्दा एउटा विडम्बना झल्किन्छ, जो नेता देशका लागि लड्छ, राष्ट्रियताको पक्षमा बोल्छ, आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर राष्ट्र निर्माणको सपना देख्छ, उसैलाई निरन्तर बदनाम गरिन्छ, उसैलाई आलोचना र अपमानको शिकार बनाइन्छ । यो विडम्बनाको ताज आज केपी शर्मा ओलीको शीरमा पहिर्याइएको छ ।
तर, यो सत्य हो कि ओली कुनै सामान्य राजनीतिज्ञ होइनन् । उनी ती दुर्लभ नेतामध्ये एक हुन्, जसले देशको संकटमा हिम्मत देखाए, राष्ट्रहितमा स्पष्ट अडान लिए र नेपाललाई आत्मनिर्भर बनाउने सपना देखेर त्यसलाई कार्यान्वयनमा लैजान सके ।
२०७२ सालको संविधान जारी भएको केही दिनमै भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगायो । देश इन्धनविहीन र औषधिविहीन भयो । जनजीवन ठप्प पारियो । तर, त्यतिबेला प्रधानमन्त्रीको रूपमा केपी ओलीले जसरी त्यो संकटको डटेर सामना गरे, त्यो इतिहासमै उदाहरणीय छ ।
उनी झुकेनन्, लम्पसार परेनन्, बरु विकल्प रोजे । चीनसँग पारवहन सन्धि गरेर नेपालको भूगोललाई ‘भूपरिवेष्ठित’ अवस्थाबाट ‘भू–जडित’ अवस्थामा रूपान्तरण गर्ने मार्ग प्रशस्त गरे । यतिमात्रै होइन, भारतले कब्जा गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गरियो, जुन संसदबाट सर्वसम्मत पारित गरियो । यस्तो साहस नेपालका इतिहासमा गनिएका केही नेताले मात्र देखाएका छन् र तिनको सूचीमा ओली अग्रस्थानमा छन् ।
उनको नेतृत्वमा नेपालले कैयौं दशकदेखि अड्केका पूर्वाधार निर्माणले गति पायो । काठमाडौं–तराई फास्ट ट्रयाक, पेट्रोलियम पाइपलाइन, सुनकोशी–मरिन डाइभर्सन आयोजना, चोभार सुख्खा बन्दरगाह, जनकपुर–जयनगर रेल सेवा— यी कुनै कल्पनाका परियोजना थिएनन्, कार्यान्वयनको चरणमा पुगेका योजना थिए ।
प्रधानमन्त्री रोजगारी कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, कुशको छाना हटाउने अभियानजस्ता कार्यक्रमले ग्रामीण, गरिब र पछाडि पारिएका वर्गमा पहुँच बनाएका थिए । ओलीको कार्यकालमा बारा–पर्साका टोर्नाडो पीडितलाई ५ महिनामै घर बनाइयो ।
भूकम्पले ध्वस्त बनाएका संरचना-धरहरा, दरबार हाईस्कुल, रानीपोखरी, गोरखा दरबार जस्ता सम्पदाहरू-पुनर्निर्माण भए । ती काम कुनै नाराको खेती थिएनन्, तिनीहरू देश बनाउने यथार्थ प्रयास थिए र पूरा पनि भएको छ । बलम्बु नौविसे सुरुङमार्ग प्रयोगमा आइसक्यो । अठार घण्टाको अन्धकार छिचोल्दै लोडसेडिङ अन्त्य गर्नु पनि सामान्य कुरा थिएन । यो एमाले र केपी ओलीकै नेतृत्वमा सम्भव भएको छर्लङ्गै छ ।
तर, आज के भइरहेको छ ? तिनै नेतामाथि झूटो आरोप, चरित्र हत्या र योजनावद्ध बदनाम गर्ने अभियान चलाइँदैछ । केही मिडिया, सामाजिक सञ्जाल, केही स्वघोषित बुद्धिजीवी र केही विदेशी स्वार्थमा चल्ने तत्त्वहरू ओलीलाई जनविरोधी, अलोकतान्त्रिक वा भ्रष्टाचारमा संलग्न भनेर प्रस्तुत गर्न अभ्यस्त छन् । तर, कुनै प्रमाण छैन ।
ओलीमाथिका आरोप प्रमाणित गर्ने अदालत छैन, बरु त्यो एक नियोजित हमला देखिन्छ, जसको उद्देश्य स्पष्ट छ- राष्ट्रवादी नेतृत्वलाई कमजोर बनाउने, झुकाउने, बिझाउने नेताको स्थानमा चलखेल गर्दै रमाउने र कठपुतली नेताको रूपमा परिभाषित गराउने स्वार्थमा लिप्त देखिन्छन् । आफ्नो घर खरानी बनाएर ब्युँताउन लगाउने मनोदशाले ग्रसित छन् ।
नेपालको राजनीतिमा सिण्डिकेट, भागबण्डा, गुटबन्दी र अवसरवादको राक्षसीकरण पलाएको धेरै भयो । ओलीले यही संस्कृतिलाई तोड्न खोजे । विभिन्न राजनीतिक घटना र सार्वभौमसत्ताप्रति सतिसाल झैं अडिक रहनु केवल ओलीको हार थिएन । नेपाली जनता र सार्वभौम राष्ट्रको अपमान ओलीलाई पाच्य थिएन र छैन पनि ।
दलाल पूँजीवादका अनुयायीले स्वार्थको रोटी सेक्न नेपाली जनताको आशा कुल्चे—तर ओलीले हिम्मत हारेका छैनन् । उनी राजनीतिक जंघारमा पटक पटक लडे, फेरि उठे र जनताको आवाज बोलिरहे । ओली साँच्चीकै ठट्टा र हाँसीमजाक पनि गर्छन् तर, जनता र देशविकास माथि होइन, जो विकासविरोधी छन्, जो अवाञ्छित गतिविधिमा संलग्न छन्, जो आफूबाहेक अरू कोही होइनन् भन्ने मनोदशाबाट ग्रस्त छन्, उनीहरूलाई ओलीको ठट्टाले पनि ठूलै चोट पुर्याएको छ । हो, त्यस्ता फोहोरी र ढोँगी अनुहारहरू नै ओलीमाथि लाञ्छना लगाउन र बदनाम गर्न तल्लीन छन् ।
ओली भारत वा अरू कुनै शक्तिको दबाबमा चल्ने नेता होइनन् । उनमा राष्ट्रियताप्रतिको अकाट्य आत्मसम्मान छ । यही आत्मसम्मानले केहीलाई असहज बनाएको छ । विदेशी चलखेलको विरोध गर्ने, असंवैधानिक दबाब अस्वीकार गर्ने र नेपालको हितका लागि राष्ट्रवादी निर्णय लिने नेताहरू शक्तिशाली खेलाडीका लागि समस्या बन्ने कुरा इतिहासदेखि नै जारी छ ।
आज विदेशी एजेण्डामा चल्ने दलाल प्रवृत्तिका लागि ओली बाधक बनेका छन् । त्यसैले त उनलाई संसदमा होइन, सडकमा होइन, सामाजिक सञ्जालभित्र फैलाइएको झूटको मैदानमा हराउने प्रयास भइरहेको छ ।
तर, नेपाली जनता सबै मूर्ख छैनन् । उनीहरूले केपी ओलीको काम चिनेका छन्, निर्णय हेरेका छन् । जनमतद्वारा एमाले देशको सबैभन्दा ठूलो दल बन्नु यसको प्रमाण हो । एमाले–ओलीलाई मत दिइने कारण गफ होइन, काम हो, नीति हो, राष्ट्रप्रेम हो र सबैभन्दा ठूलो कुरा जनताको सर्वोपरी हितमा दूरदर्शिताको प्रक्षेपण हो । आलोचना गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो, तर निराधार आरोप, व्यक्तिगत हमला र दुष्प्रचार लोकतन्त्र होइन, षड्यन्त्र हो ।
आज देश फेरि अन्योलमा छ । सरकार छ, तर सरकारको काम छैन । निर्णय छन्, तर कार्यान्वयन छैन । विदेशी एजेण्डा हावी छ, तर राष्ट्रियता मौन छ । यस्तो बेला हामीले प्रश्न उठाउनुपर्छ– के फेरि यस्तो संकटमोचक, यति स्पष्ट, निडर र आत्मनिर्भर सोच बोकेको नेतृत्व हामीले पर्खिनै पर्ने हो ? ओलीको नेतृत्वमा जे काम भए, तिनलाई पूर्णता दिने अवसर फेरि किन नदिने ? के हामी फेरि गफ, भागबण्डा र विदेशी दबाबको कठपुतली खोजिरहेका छौं ?
केपी शर्मा ओली कुनै देवता होइनन् । उनमा कमजोरी नहुन सक्दैन । तर, उनीसँग राष्ट्रको माटोको माया छ, इतिहासप्रतिको जिम्मेवारी छ र भविष्यप्रतिको योजनाबद्ध सोच छ । यस्तो नेता बिरलै पाइन्छ । उनलाई हेर्ने दृष्टिकोण आलोचनाबाट मात्र होइन, पुनर्विचारको नयाँ आँखिझ्यालबाट हेर्नुपर्छ । आज जरुरी छ, हामी राजनीतिक हिसाबभन्दा माथि उठेर प्रश्न गरौं– के साँचो राष्ट्रभक्त नेताको साथ दिनु अपराध हो ?
देश निर्माण सपना देखेर मात्र हुँदैन, त्यसको जग हाल्नुपर्ने हुन्छ, बलिदान दिनुपर्ने हुन्छ र आलोचना सहनुपर्ने हुन्छ । केपी शर्मा ओली ती सबै परीक्षा पास गरेका नेतामध्ये अग्रणी छन् । इतिहासले उनलाई जस्तो मूल्य चुकाउन लगायो, त्यो सहेर पनि जसले राष्ट्रको पक्षमा उभिने आँट गर्यो, उसलाई गाली होइन, सम्मान गर्नुपर्छ ।
आज हामी आलोचना थामेर विचार गरौं, के देशले फेरि गति लिनु पर्दैन ? यसका लागि केही निर्णय गर्नु पदैन ? के फेरि राष्ट्रका लागि बोल्ने नेता चाहिँदैन ? जवाफ छ– हो । र, त्यो जवाफको प्रतीक आज पनि केपी शर्मा ओली नै हुन् । फेरि एकपटक बोलौं राष्ट्रवादको अपराधीकरण कहिलेसम्म ? आलोचना होइन, पुनर्विचार गरौं ।