प्रेमचन्द्र झा / राैतहट। गाैर कबिर चाैकमा २०७२ सालको मधेस आन्दोलनमा गोली लागेर गम्भीर घाइते भएका र गाैर नपा ४ निवासी लालबाबु राय पटेल अहिले पनि अपांग जीवन बाँचिरहेका छन्। आन्दोलनको समयमा राज्यसँग हक–अधिकारको माग गर्दै सडकमा उत्रिएका पटेललाई भदौ २७ गते दिउँसो करिब २ बजे सुरक्षाकर्मीले चलाएको गोली मेरुदण्डमा लागेको थियो। त्यसपछि उनी कहिल्यै पुरानै अवस्थामा फर्किन सकेनन्।
गोली लागेर गम्भीर घाइते भएका पटेल करिब छ महिनासम्म विभिन्न अस्पतालमा उपचाररत रहेका थिए — वीर अस्पतालको सघन कक्षमा दुई महिना, नारायणी अस्पतालमा तीन महिना, नयाँ दिल्लीको एम्स अस्पतालमा बीस दिन र त्रिवि शिक्षण अस्पतालमा थप पन्ध्र दिन। अहिले पनि उनको स्वास्थ्य अवस्था कमजोर नै छ।
“अब म बाटो हिँड्न पनि असहज महसुस गर्दछु, काम गर्न सक्दिनँ,” उनले दुःख पोख्दै भने, “राज्यले उपचार खर्च त दियो, तर त्यसपछि कसैले मेरो अवस्था नसोचेको अनुभव भइरहेको छ।”
चार धुर जग्गामा सामान्य घर भएका पटेलको आर्थिक अवस्था अत्यन्त कमजोर छ। श्रीमती र पाँच छोरीसहित एक छोरा रहेको परिवारको गुजारा चलाउन निकै कठिन भएको उनले बताए। “मधेसका लागि आन्दोलन गर्दा गोली खानुपर्यो, तर अहिले परिवार पाल्नकै समस्या छ,” उनी भन्छन्।
पटेलका अनुसार, मधेस प्रदेश सरकारले ‘मधेसी सहिद दिवस’को अवसरमा दुई लाख रुपैयाँ एकमुष्ट सहयोग गरे पनि त्यसले उनको दैनिकी सहज बनाउन सकेको छैन। उनले भने, “राज्यले मलाई कुनै सहज काममा लगाएर सानो मासिक तलब सुविधा दिएको भए म र मेरो परिवारले सम्मानपूर्वक बाँच्न सक्थ्यौं।”
राजनीतिक रूपमा सचेत पटेल अहिले पनि मधेस आन्दोलनलाई देश परिवर्तनको मर्मका रूपमा हेर्छन्। “मधेस आन्दोलनपछि राज्यको मधेसप्रतिको नजरिया केही बदलिएको छ,” उनी भन्छन्, “तर त्यो परिवर्तन व्यवहारमा झल्किन सकेको छैन।”
उनको भनाइमा, आन्दोलनको जगमा बनेको मधेस प्रदेशले पनि मधेसको पहिचान र अधिकारको सवालमा अपेक्षित काम गर्न सकेको छैन। “मधेसलाई आठ जिल्लामा सीमित बनाउनु राजनीतिक रूपमा मधेसको हैसियत घटाउने प्रयास हो,” उनले असन्तोष व्यक्त गरे।
उनले थपे, “हामीले हतियार होइन, आवाज उठाएका थियौं। त्यस आवाजले देशको संरचना बद्लियो। तर आज त्यही परिवर्तनका साक्षी हामीजस्ता घाइते आन्दोलनकारीहरू राज्यबाट उपेक्षित  भइरहेका छौं।”
स्थानीय स्तरमा विभिन्न संघ–संस्थाले समय–समयमा सहयोग नगरेको उनको गुनासो छ । जीविकोपार्जनका लागि उनी राज्यसँग रोजगार वा मासिक भत्ता व्यवस्थाको माग गरिरहेका छन्। “मधेस आन्दोलनको नारा थियो — समान अधिकार र सम्मानको। त्यो नारा मेरो जीवनमा अझै अधुरो छ,” पटेलको पीडा यत्तिकैमा सीमित छ।