केही वर्ष अघिसम्म, भारतको विदेश नीतिमा अवामी लिग बिनाको चुनाव र बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को सत्ता आगमनलाई ठुलो झट्काको रूपमा हेरिन्थ्यो।
तर अहिले, तारिक रहमान र उनको पार्टी बीएनपी सत्तामा आउँदा भारतले स्वागत गर्न कुनै कसर बाँकी राखेको देखिँदैन। अवामी लिग विनाको चुनावमा पनि भारतले कुनै ‘आपत्ति’ जनाएन। साथै, भारतले अहिले अवामी लिगको खुलेर समर्थन पनि गरिरहेको छैन।
के यसले सन् २०२४ को जुलाईमा बंगलादेशमा भएको राजनीतिक विद्रोहका बेला भारतले अपनाएको दृष्टिकोण बारे भारतले पुनर्विचार गरेको भन्ने सन्देश दिन्छ ?

कुरा केवल बीएनपीको मात्र होइन। भारतीय विदेश सचिव विक्रम मिसरीले बंगलादेश जमात-ए-इस्लामीका अमीर शफिकुर रहमानसँग पनि भेटवार्ता गरिरहेका छन् र यसका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन्। जमातसँगको भेटको सार्वजनिक जानकारी दिनु आफैँमा एक महत्त्वपूर्ण मोड हो।
बंगलादेशमा १२ फेब्रुअरीमा भएको आम निर्वाचनमा तारिक रहमानको नेतृत्वमा रहेको बीएनपीले जित हासिल गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १३ फेब्रुअरीमा बधाई दिन अलिकति पनि ढिलाइ गरेनन्।

प्रधानमन्त्री मोदीले एक्समा बधाई सन्देश पोस्ट गरेपछि तारिक रहमानलाई फोन गरेर कुराकानी पनि गरे। तारिक रहमानको शपथ ग्रहण समारोहमा लोकसभा अध्यक्ष ओम बिर्ला सहभागी भए भने प्रधानमन्त्री मोदीले पत्र लेखेर बंगलादेशका नयाँ प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तोसमेत दिए।
प्रधानमन्त्री मोदीको यो व्यवहारबाट स्पष्ट हुन्छ, भारत तारिक रहमानप्रति न्यानोपन देखाइरहेको छ र अन्तरिम सरकारको समयमा देखिएको तिक्ततापूर्ण सम्बन्धबाट बाहिर निस्कन चाहन्छ।
तर, तारिक रहमानको तर्फबाट अहिलेसम्म सार्वजनिक रूपमा त्यस्तो कुनै न्यानोपन देखिएको छैन। एक दिनपछि बीएनपीको आधिकारिक एक्स ह्यान्डलबाट प्रधानमन्त्री मोदीको पोस्टलाई रिपोस्ट गर्दै धन्यवाद त भनियो, तर तारिक रहमानको व्यक्तिगत सामाजिक सञ्जालबाट केही पनि भनिएन।
जितपछि तारिक रहमान निष्क्रिय थिए भन्ने होइन। जितपछि पनि उनी ढाकामा धेरै राजनीतिक गतिविधिहरूमा सहभागी भइरहेका थिए।

१५ फेब्रुअरीमा बंगलादेश जमात-ए-इस्लामीका अमीर शफिकुर रहमानको आधिकारिक एक्स अकाउन्टबाट एक पोस्ट गरियो। उक्त पोस्टमा बीएनपी प्रमुख तारिक रहमान उनीसँग भेट्न उनको आवासीय कार्यालयमा आएको जानकारी दिइएको थियो।
बंगलादेश जमात-ए-इस्लामी बीएनपीको सहयोगी रहँदै आएको छ, तर यस चुनावमा ऊ प्रतिस्पर्धी थियो। जमात-ए-इस्लामीलाई धेरै मामिलामा भारत विरोधी मानिन्छ किनभने यसले बंगलादेशको स्वतन्त्रता संग्रामको समर्थन गरेको थिएन।
बंगलादेश मामिलाका जानकारहरूका अनुसार, जमातको विपक्षमा रहँदा भारतसँगको सम्बन्धमा बीएनपी सरकारले भारतको हितका लागि काम गरिरहेको छ भन्ने सन्देश दिनु तारिक रहमानका लागि सजिलो छैन।
दक्षिण एसियाको भू-राजनीतिमा गहिरो नजर राख्ने निरुपुमा सुब्रमण्यम भन्छिन्, ‘तारिक रहमान र भारतबिचको विगत धेरै राम्रो छैन। सन् २००१ देखि २००६ सम्म जब खालिदा जिया बंगलादेशकी प्रधानमन्त्री थिइन्, तब बंगलादेशका लागि तत्कालीन भारतीय उच्चायुक्तले मलाई भनेका थिए कि तारिक रहमान त्यहाँका ‘सञ्जय गान्धी’ थिए। तर अब भारतसँग तारिकभन्दा राम्रो विकल्प छैन। भारतले पहिले नै चुनिएको सरकारसँग कुरा गर्ने बताएको थियो र अब त्यहाँका जनताले जनादेश दिएका छन्। यस्तो अवस्थामा भारतले स्वागत गर्नुको विकल्प थिएन।’
वास्तवमा, बंगलादेशको राजनीतिबाट शेख हसिनाको अवामी लिग बाहिरिएपछि बीएनपीलाई एक मध्यमार्गी पार्टीको रूपमा हेरिँदैछ। बीएनपी जमात जस्तो हुन सक्दैन किनकि बंगलादेशको स्वतन्त्रता संग्राममा तारिक रहमानका पिता जिया-उर रहमान पनि सामेल थिए। बीएनपीले जमातले जस्तो स्वतन्त्रता संग्रामलाई खारेज गर्दैन।
शेख हसिनाको ठीक उल्टो, बीएनपी स्वतन्त्रता संग्राम र इस्लाम दुवैका बिच सन्तुलन बनाएर अघि बढ्ने प्रयास गर्छ। तर जमातको विपक्षमा रहँदा यो सन्तुलन कायम राख्न त्यति सजिलो हुनेछैन। यदि जमात इस्लामको अतिवादी धारतर्फ बढ्यो भने बीएनपीलाई सन्तुलन मिलाउन गाह्रो हुनेछ।

निरुपुमा सुब्रमण्यम भन्छिन्, ‘जिया-उर रहमान पनि आफूलाई स्वतन्त्रता सेनानी नै मान्थे। शेख मुजिब-उर रहमान र जिया-उर रहमानबिचको एउटा मुख्य द्वन्द्व कसले सबैभन्दा पहिले बंगलादेशको स्वतन्त्रताको घोषणा गर्यो भन्ने पनि थियो।
बीएनपी र उनका समर्थकहरू मान्छन्, यसको घोषणा सबैभन्दा पहिले जिया-उर रहमानले गरेका थिए। यसलाई लिएर पाठ्यक्रमहरू पनि परिवर्तन भइरहेका छन्। बंगलादेशको संस्थापक को हुन् भन्ने विषयमा पनि लडाइँ हुँदै आएको छ। तर अर्कोतर्फ जमात-ए-इस्लामीले पाकिस्तानी सेनालाई साथ दिइरहेको थियो।’
शेख हसिनाले जसरी जमातसँग व्यवहार गर्थिन्, सायद तारिक रहमानले त्यसरी गर्न सक्ने छैनन्। जमात-ए-इस्लामी चुनावी राजनीतिमा यसपटक निकै बलियो भएर उभिएको छ।
जमातको नेतृत्वमा रहेको गठबन्धनले ७७ सिट जितेको छ। बंगलादेशको चुनावमा भारत एक प्रमुख मुद्दा थियो। जसले शेख हसिनालाई सत्ता छोडेर भाग्न बाध्य पारे, ती विद्यार्थीहरूको नेशनल सिटिजन पार्टी भारतको विरुद्ध खुलेर बोलिरहेको थियो र जमातसँग उनीहरूको गठबन्धन थियो। अर्कोतर्फ, तारिक रहमान पूरै चुनावमा कुनै पनि स्तरमा भारत विरोधी देखिएनन्।
दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा दक्षिण एसिया अध्ययन केन्द्रका प्रोफेसर महेन्द्र पी लामा भन्छन्, ‘यदि जमात भारतका लागि समस्या बन्छ भने त्यो बीएनपीका लागि पनि समस्या बन्नेछ।’
प्रोफेसर लामा भन्छन्, ‘जमात जुन हदसम्म भारतका लागि खतरा बन्नेछ, त्यति नै बीएनपीका लागि पनि बन्नेछ। म यस्तो यसकारण भनिरहेको छु भने बंगलादेशमा अब कुनै तेस्रो पार्टी छैन। बीएनपी र जमात दुवै एकैपटक एकअर्काको विरुद्धमा जान सक्दैनन्। जमात र बीएनपी दुवैले मिलेर शेख हसिनालाई हटाएका हुन्। जमात र बीएनपी दुवै आमने-सामने हुनेछन् तर यसमा अझै समय लाग्नेछ।’
प्रोफेसर लामा भन्छन्, ‘केही समय पर्खनुहोस्, अवामी लिगले पनि बीएनपीलाई समर्थन गर्नेछ।’
आफ्नो जितपछि १५ फेब्रुअरीमा तारिक रहमानले पहिलो पत्रकार सम्मेलन गरेका थिए। उक्त पत्रकार सम्मेलनमा रहमानलाई भारतसँगको सम्बन्धबारे सोध्दा उनले भने, ‘हामीले विदेश नीतिको सम्बन्धमा आफ्नो स्थिति स्पष्ट गरिसकेका छौँ, जो बंगलादेशको हितमा छ र बंगलादेशी जनताको हित सबैभन्दा पहिला आउँछ। बंगलादेश र बंगलादेशी जनताको हितको रक्षा गर्दै हामी आफ्नो विदेश नीति तय गर्नेछौँ।’

चीन र पाकिस्तानलगायत अन्य क्षेत्रीय देशहरूसँगको सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो प्राथमिकता बंगलादेशको हितको रक्षा गर्नु हुने बताए।
तारिक रहमानले भनेका थिए, ‘यदि कुनै कुरा बंगलादेशको हितमा छैन भने स्वाभाविक रूपमा हामी त्यसमा अघि बढ्न सक्दैनौँ। मलाई पूर्ण विश्वास छ कि पारस्परिक हित नै हाम्रो पहिलो प्राथमिकता हुनेछ।’
अर्थात्, तारिक रहमान भारतलाई लिएर खुलेर केही पनि बोल्नबाट बचिरहेका छन्। गंगा जल सम्झौताको ३० वर्ष यसै वर्ष पूरा हुँदैछ र यसलाई अगाडि बढाउन नयाँ सन्धि गर्नुपर्नेछ।
बीएनपीले यो सन्धिलाई भारततर्फ ढल्किएको बताउँदै आएको थियो र विरोध पनि गरेको थियो। तर सरकारमा रहँदा बीएनपीले यसलाई कहिल्यै रद्द गरेन। अब बीएनपीले नै यसलाई नयाँ सिराबाट गर्नुपर्नेछ। बीएनपी मान्छ कि शेख हसिनाको सरकारमा भारतसँग भएका धेरै सन्धिहरू एकतर्फी थिए र तिनको समीक्षा हुनुपर्छ।
भारतको ढिलाइ
प्रोफेसर लामा भन्छन्, ‘यदि बंगलादेशलाई अहिलेसम्म भारतसँगको सम्बन्ध ‘आश्रित’ थियो भन्ने लाग्छ भने भारतले स्पष्ट भन्नुपर्छ कि हामी अब ‘अन्तर-निर्भर’ सम्बन्धका लागि तयार छौँ।
निरुपुमा सुब्रमण्यम भन्छिन्, ‘मेरो विचारमा तारिक रहमान सार्वजनिक रूपमा यस्तो केही पनि गर्ने छैनन्, जसबाट यो सन्देश जाओस् कि उनी भारतलाई केही दिइरहेका छन् वा कुनै मामिलामा छुट दिइरहेका छन्। कुनै सम्झौता भएमा, तारिक रहमान आफूलाई यस्तो देखाउन सक्दैनन् जसबाट भारतलाई उनले धेरै दिएको सन्देश जाओस्। यदि त्यसो गरे भने उनलाई बंगलादेशमा समस्या हुनेछ। बंगलादेशको जनादेश भारतको पक्षपोषण गर्नका लागि भएको जस्तो लाग्दैन। मलाई लाग्छ कि ‘ब्याकरूम डिलिङ’ (पर्दा पछाडिको कूटनीति) बढी हुनेछ।’

प्रोफेसर महेन्द्र पी लामाका अनुसार भारतले जुन काम अहिले गरिरहेको छ, त्यो शेख हसिना हटे लगत्तै सुरु गर्नुपर्थ्यो। प्रोफेसर लामा भन्छन्, ‘तारिक रहमान र बीएनपीसँग सहयोगका लागि हात तब बढाइँदै छ, जब बंगलादेशका जनतामाझ भारतको छवि नकारात्मक बनेको छ। कुनै पनि देशको लोकप्रिय सरकार आफ्नो देशको लोकप्रिय जनादेशको विरुद्ध गएर सम्बन्ध बनाउन चाहँदैन। भारतले अहिले बिल्कुल सही गरिरहेको छ, तर तारिक रहमान पनि उस्तै न्यानोपनका साथ प्रस्तुत होऊन्, अहिले यो मुस्किल छ।’
भनिँदै छ, बीएनपीको जित भारत-बंगलादेशबिच बढी जटिल द्विपक्षीय राजनीतिक सम्बन्धको एक नयाँ युगको सुरुवात हुन सक्छ।
अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गका एसिया-प्यासिफिक इकोनोमिक्सका सीईओ राजीव विश्वास भन्छन्, ‘बीएनपीको नेतृत्वमा बंगलादेशले चीन र पाकिस्तानसँग सम्बन्ध गहिरो बनाउनेछ। यस्तो अवस्थामा भारतले यस क्षेत्रमा बढ्दो भू-राजनीतिक प्रतिस्पर्धालाई व्यवस्थापन गर्नुपर्नेछ।’
(बीबीसीका लागि कलेक्टिभ न्युजरुमद्वारा प्रकाशित रिपोर्टको भावानुवाद)