वीरगन्ज । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेश प्रदेश तथा तराई–मधेश क्षेत्रलक्षित कृषि, पूर्वाधार, खानेपानी, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रका विभिन्न महत्त्वाकाङ्क्षी कार्यव्रmम अघि सारेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा मधेशलाई उत्पादन, कनेक्टिभिटी र सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गरिएको छ ।
सरकारले सुनकोशी–मरिण डाइभर्सन आयोजनाबाट सिञ्चित हुने एक लाख २२ हजार हेक्टर क्षेत्रलाई आधार बनाएर ‘मध्य मधेश चतुर्भुज’ निर्माण गर्ने घोषणा गरेको छ । हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्ग विस्तारका बाँकी काम सम्पन्न गरी कृषि तथा उद्योग प्रवर्धन गरिने उल्लेख गरिएको छ ।
सरकारले हुलाकी राजमार्ग तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । घना बस्ती क्षेत्रमा सडक चौडा गर्ने र आठ वटा सडक पुल निर्माण सम्पन्न गर्न चार अर्ब ६५ करोड रुपियाँ छुट्याइएको छ । रेल पूर्वाधारतर्फ बर्दीबासदेखि काठमाडौँ–तराई मधेश द्रुतमार्ग प्रस्थान विन्दुसम्म रेलमार्ग विस्तार गरिने छ । निर्माणाधीन जनकपुर–जयनगर–बर्दीबास रेलमार्गको बाँकी काम सम्पन्न गर्नसमेत बजेट विनियोजन गरिएको छ । तराई–मधेश क्षेत्रमा सुक्खायाममा हुने खानेपानी अभाव समाधान गर्न डिप बोरिङसहितको सामुदायिक खानेपानी प्रणाली विकास गरिने छ । अधुरा रहेका २८० वटा खानेपानी आयोजना सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपियाँ विनियोजन गरिएको छ ।
सिँचाइतर्फ बागमती सिँचाइ आयोजनाको स्तरोन्नति गरी बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न ५३ करोड रुपियाँ छुट्याइएको छ । कमला र नारायणी सिँचाइ प्रणालीको मर्मत तथा पुनस्र्थापनासँगै भूमिगत सिँचाइ सुविधा विस्तार गर्न एक अर्ब तीन करोड रुपियाँ विनियोजन गरिएको छ ।
खेलकुद पूर्वाधार अन्तर्गत लहान र वीरगन्जमा आधुनिक संरचना निर्माण तथा मधेश प्रदेशमा प्रस्तावित ११ औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार विकास गरिने भएको छ । कृषि प्रशोधन उद्योगतर्फ सिराहा र सप्तरीमा आँप प्रशोधन केन्द्र तथा सर्लाहीमा गोलभेँडा प्रशोधन केन्द्र स्थापना गरिने घोषणा गरिएको छ । संस्कृति तथा पर्यटन प्रवर्धनका लागि जनकपुरलाई विवाह गन्तव्यका रूपमा विकास र ब्रान्डिङ गरिने छ । रामजानकी पथ तथा रामजानकी परिव्रmमा सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । जनकपुरधामलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाइने तथा सखडा–धनुषाधाम–गढीमाई प्रादेशिक पर्यटकीय कोरिडोर विकास गरिने सरकारको योजना छ ।
मिश्रित प्रतिक्रिया
सरकारले आगामी आवका लागि चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च चार खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा चार खर्ब २२ अर्ब गरी २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ ।
वीरगन्ज उद्योगी व्यवसायीले बजेटबारे मिश्रित प्रतिक्रिया दिनुभएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घ अध्यक्ष हरि गौतमले बजेटमा कल्पना गरिए जस्तो राजस्व सङ्कलन गर्न कठिन रहेको बताउनुहुन्छ । बजेटमा स्रोतको सुनिश्चित नरहेको र स्रोत कल्पना मात्र गरिएको उहाँको दाबी छ । उहाँ भन्नुहुन्छ, “वैदेशिक सहायता ऋण भनेको छ, हाल २० अर्ब आएकोमा ६१ अर्ब लिन्छुभन्दा त्यसको कुनै भर हुँदैन । बजेटमा खर्च बढी देखाइएकाले त्यसो गरिएको हुनु पर्छ । तलब बढाउने अन्य काम गर्ने भनेर बढाइएको खर्च काल्पनिक स्रोत हालेर बनाइयो ।”
त्यस्तै गरी वीरगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपाल पाँच लाखसम्ममा रहेको व्यक्तिगत आयमा कर छुट रहेकोमा त्यसलाई बढाएर १० लाख बनाइनु सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्सनलमा या प्रोप्रराइटरमा पहिले ३९ प्रतिशत कर थियो, त्यसमा १० प्रतिशत घटाएर २९ प्रतिशत गरिएको छ । एक्साइज लाग्ने गरेका ३६० प्रकारका मालसामानको एक्साइजलाई खारेजी गरिएको छ । बिजुली बिलमा अब भ्याट थपिएको छ । जिल्लापिच्छे लिने गरेको कवाडी कर एउटा जिल्लामा लिएपछि अर्को जिल्लामा लिन नपाउने गरिएको छ । बारा पर्सा औद्योगिक कोरिडोरका लागि त्यस्तो उल्लेखनीय केही भनिएको छैन ।”
कृषि र सिँचाइ प्राथमिकतामा पर्दा खुसी
सर्लाही समाचारदाताका अनुसार आगामी आवको बजेटमा सर्लाहीलाई समेत जोडेर कृषि र सिँचाइ प्राथमिकतामा परेपछि किसान खुसी भएका छन् । सर्लाहीमा गोलभेँडा प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा गरेपछि किसान खुसी भएका हुन् । लालबन्दी र आसपासको क्षेत्र गोलभेँडाको पकेट क्षेत्र हो । सर्लाहीका किसान अहिले कुनै विकल्प नहुँदा गोलभेँडा पाक्नासाथ जतिसुकै सस्तो मूल्य भए पनि बिक्री गर्न बाध्य छन् । सरकारले घोषणा गरेबमोजिम यदि सस बनाउने वा अन्य कुनै प्रयोजनका लागि गोलभेँडाको प्रशोधन भए किसानले हतार हतार सस्तोमा गोलभेँडा बेच्नुपर्ने बाध्यता नहुने लालबन्दी नगरपालिका–१०, तुलसीटोलका किसान प्रेम श्रेष्ठले बताउनुभयो ।