जनकपुरधाम । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार जारी बजेटप्रति मधेसमा आशा र निराशा दुवै पक्षबाट हेरिएको छ । कसैले यो बजेटलाई मधेसका लागि आशाको किरण मानेका छन् त कसैले खासै नयाँ कार्यक्रम नभएको प्रतिक्रिया दिएका छन् ।
यो पटकको बजेटले मधेस प्रदेशमा रहेका केही पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ । त्यस्तै पूर्वाधार, पर्यटन र स्वास्थ्य क्षेत्रमा समेटिएका केही योजनाले प्रदेशमा अपेक्षाहरू बढाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह तथा धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने घोषणा गरिएको छ । यसअघिको पूर्ववर्ती सरकारले पनि योजना अगाडि बढाएजस्तै यसपटक पनि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाइने बजेटमा उल्लेख गरिएको छ । त्यस्तै रामजानकी पथ तथा रामजानकी परिक्रमा मार्गको स्तरोन्नतिका लागि समेत बजेट विनियोजन गरिएको छ ।
यातायात पूर्वाधारतर्फ हुलाकी राजमार्ग र द्रुतमार्ग निर्माणलाई तीव्रता दिने, काठमाडौंसँग मधेसलाई जोड्ने रेलमार्ग विस्तार गर्ने तथा बर्दिबास–विराटनगर रेलमार्ग निर्माणका लागि बजेट छुट्याइएको छ । जनकपुरधाम–जयनगर–बर्दिबास रेलमार्गको बाँकी खण्ड सम्पन्न गर्न पनि आवश्यक स्रोत सुनिश्चित गरिएको सरकारले जनाएको छ ।
बजेटलाई लिएर मधेसमा मिश्रित प्रतिक्रिया देखिएको छ । मधेस नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहले समग्रमा मधेसका लागि यो बजेट आशा दिने खालको रहेको प्रतिक्रिया दिएका छन् । विगतका वर्षहरूभन्दा यो बजेट सुधारिएर आएको उनले बताए । उनले रास्वपा नेतृत्वको यो सरकारले प्रदेशहरूलाई प्रथामिकतामा राखेर ल्याउनु सुखद संकेत रहेको बताए । उपाध्यक्ष सिंहले भने, 'पहिलेका सरकारहरूले समपुरक अनुदान, विशेष अनुदानमा कटौती गर्दै आइरहेको थियो, तर वर्तमान सरकारले यी अनुदानहरूलाई प्राथमिकतामा राख्नु मधेसका लागि राम्रो संकेत हो ।'
मानव विकास सूचकांकमा पछाडि रहेको मधेसका लागि आगामी आवमा सामाजिक विकासलाई प्राथमिकतामा राख्नु सही निर्णय भएको उनको भनाइ छ ।
अर्थशास्त्री ननु झा भने यो सरकारले ल्याएको बजेटमा एलोटमेन्ट (कुनै काम वा निकायका लागि रकम वा स्रोत छुट्याइनु) नछुट्याएकाले असन्तुष्ट देखिए । उनले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीकृत गराउने, जनकपुरधामलाई वैवाहिक गन्तव्य स्थलको रूपमा विकास गर्नेलगायत योजनाहरू समावेश गरिए पनि त्यस शीर्षकमा बजेट स्पष्ट रूपमा विनियोजन नहुँदा कार्यान्वयनमा आशंका देखे ।
अर्थशास्त्री झाका अनुसार हुलाकी राजमार्ग, रामजानकी अन्तर्राष्ट्रिय रंगशाला, बर्दिवास मेडिकल कलेज लगायतका महत्त्वाकांक्षी योजनामा यो बजेट मौन बस्नुले मधेसमा खासै उत्साह देखिएको छैन । यद्यपि बजेट आकर्षक देखिए पनि कार्यान्वयन हुनेमा उनले शंका व्यक्त गरे ।
यता नेकपा एमाले मधेस संसदीय दलका नेता सरोज यादवले वर्तमान सरकारले मधेसबाट जसरी मत पायो त्यो हिसाबले बजेट नआएको आरोप लगाए । उनले संघीयताको मर्मअनुसार यो बजेट नरहेको बताए ।रामजानकी अन्तर्राष्ट्रिय रंगशाला, मधेसका दुई महत्त्वपूर्ण सहरहरू; जनकपुरधाम तथा वीरगन्ज, बर्दिवास मेडिकल कलेजलगायत क्षेत्रमा यो बजेट मौन बस्नुले वर्तमान सरकारको नियतमा शंका रहेको उनको भनाइ छ । वर्तमान सरकार निर्माणमा मधेसको महत्त्वपूर्ण योगदान रहे पनि मधेसले यो बजेटबाट केही नपाइएको गुनासो गरे ।
जसपा नेपाल मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले पनि नेपालकै लागि लाइफ लाइनका रूपमा हुलाकी राजमार्गलाई प्राथमिकतामा नराखिएकोमा आक्रोश व्यक्त गरे । यो बजेटले मधेसलाई 'बाइपास' गरेको उनले आरोप लगाए ।