पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा रिमा कुमारी यादव को उम्मेदवारीलाई लिएर विवाद र आलोचना तीव्र बन्दै गएको छ। नेकपा एमाले बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी यादवमाथि स्पष्ट विकास एजेन्डा प्रस्तुत गर्न नसकेको, नारामुखी प्रचारमा सीमित रहेको तथा शक्ति–सम्झौताको आधारमा टिकट पाएको आरोप स्थानीय राजनीतिक वृत्तमा चर्किएको छ।
स्थानीय मतदाताहरूका अनुसार यादवले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी सिर्जनाजस्ता आधारभूत विषयमा ठोस र व्यवहारिक योजना सार्वजनिक गर्न सकेकी छैनन्। ‘जेन्जी नेता’ भन्ने नारासहित अघि बढाइएको उनको प्रचार अभियानलाई धेरैले भावनात्मक ब्रान्डिङको प्रयास मात्र ठानेका छन्।
राजनीतिक विश्लेषकहरू भन्छन्, पर्सा–२ जस्तो विकासका दृष्टिले पछाडि परेको क्षेत्रमा उम्मेदवारले विस्तृत कार्ययोजना, समयसीमा र स्रोत व्यवस्थापनको स्पष्ट खाका प्रस्तुत गर्नुपर्ने हुन्छ। तर यादवको प्रचार कार्यक्रम पार्टीगत र व्यक्तिगत छविमा केन्द्रित देखिएको आरोप छ।
‘जेन्जी नेता’ को नाराले अर्को विवाद पनि निम्त्याएको छ। जेन्जी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा एमाले सम्बद्ध संरचनामाथि भएको आगजनी र तोडफोडका घटनाहरू स्मरणीय रहेको अवस्थामा सोही पृष्ठभूमिमा एमाले उम्मेदवारले आफूलाई आन्दोलनसँग जोडेर प्रस्तुत गर्नु विरोधाभासपूर्ण रहेको टिप्पणी भइरहेको छ। विश्लेषकहरूको भनाइमा आन्दोलनको भावनालाई मत आकर्षित गर्ने साधनका रूपमा प्रयोग गर्नु राजनीतिक अवसरवादको संकेत हुन सक्छ।
यादवको उम्मेदवारी प्रक्रिया पनि प्रश्नबाट मुक्त छैन। स्थानीय स्रोतहरूका अनुसार विजय सरावगी को सक्रिय पहलमा टिकट सुनिश्चित गरिएको र त्यसपछि मधेश प्रदेश कमिटी उपाध्यक्ष बिचारी यादव को समर्थनमार्फत औपचारिकता दिइएको चर्चा छ।
दीर्घकालीन रूपमा संगठनमा सक्रिय कार्यकर्तालाई पन्छाउँदै प्रभाव र पहुँचका आधारमा टिकट वितरण गरिएको आरोपले पार्टीभित्रै असन्तुष्टि बढाएको बताइन्छ। यद्यपि यस विषयमा सम्बन्धित नेताहरूको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
यादवको प्रचार सामग्रीमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को तस्बिर नदेखिनुले थप प्रश्न उठाएको छ। सामान्यतया केन्द्रीय नेतृत्वमा आधारित दलका उम्मेदवारहरूले शीर्ष नेताको छविलाई प्रचारको आधार बनाउने परम्परा रहँदै आएको अवस्थामा नेतृत्वको तस्बिर अनुपस्थित हुनु रणनीतिक दूरीको संकेत भएको आरोप लगाइएको छ। आलोचकहरू भन्छन्—“पार्टीको नाम र चुनाव चिन्ह प्रयोग गरेर मत माग्ने तर नेतृत्वबाट दूरी बनाउने प्रवृत्ति राजनीतिक रूपमा विरोधाभासपूर्ण छ।”
स्थानीय तहमा बढ्दो असन्तुष्टिका बीच यादवलाई मत दिन अस्वीकार गर्ने धारणा खुलेरै व्यक्त हुन थालेपछि उनले केन्द्रीय नेताहरूलाई क्षेत्रमै बोलाएर मतदाता रिझाउने प्रयास थालेको आरोप छ। स्थानीय राजनीतिक वृत्तका अनुसार जनाधार कमजोर देखिएपछि बाह्य प्रभाव प्रयोग गरी माहोल बनाउन खोजिएको हो।
युवा तथा नागरिक समूहहरूले भने भावनात्मक नाराभन्दा परिणाममुखी कार्यक्रम आवश्यक रहेको स्पष्ट पारेका छन्। उनीहरूका अनुसार केवल सामाजिक सञ्जालको सक्रियता, तडकभडकपूर्ण कार्यक्रम र बाह्य समर्थनले मात्र जनविश्वास जित्न सकिँदैन।