वीरगञ्ज । पर्सा जिल्ला अदालतले सार्वजनिक पैनी तथा पोखरी क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको भन्दै संरचना निर्माण कार्य तत्काल रोक्न आदेश दिएको छ । उक्त प्रकरणमा वीरगञ्ज महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्र विवादमा तानिएका छन् ।
जिल्ला अदालत पर्साका न्यायाधीश रुद्र प्रसाद सुवेदीको इजलासले दिएको आदेशमा सार्वजनिक उपयोगको जग्गामा भइरहेको निर्माण कार्य तत्काल रोक्न भनिएको छ । अदालतले निवेदक र विपक्षी दुवै पक्षलाई छलफलका लागि बोलाउँदै अन्तिम टुंगो नलागेसम्म कुनै पनि निर्माण कार्य नगर्न/नगराउन निर्देशन दिएको जनाएको छ ।
सुगौली बिर्ता निवासी एक महिलाले दिएको निवेदनमा सार्वजनिक पैनी, पोखरी तथा खुला क्षेत्र अतिक्रमण गरी संरचना निर्माण गर्न खोजिएको आरोप लगाइएको छ । निवेदनमा वडा कार्यालयसहित सम्बन्धित निकायलाई विपक्षी बनाइएको छ ।
अदालतको आदेशपछि स्थानीयस्तरमा सार्वजनिक सम्पत्ति संरक्षणको विषय पुनः चर्चामा आएको छ । स्थानीयवासीहरूले सार्वजनिक जग्गा मिचेर गरिने निर्माण कार्य रोक्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताएका छन् ।
यस विषयमा वडा अध्यक्ष शम्भु मिश्रको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक हुन बाँकी रहेको छ ।