काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले जेठ १७ गते प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर भारतको सीमा नेपालले मिचेको अभिव्यक्ति दिए । आकस्मिक रूपमा सांसदहरूले सोधेका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री शाहले त्यस्तो अभिव्यक्ति दिएपछि सदनभित्र र बाहिर उनको अभिव्यक्तिको चर्को विरोध भइरहेको छ ।
प्रधानमन्त्री शाहको त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने र सदनको रोष्ट्रममै उभिएर माफी माग्नुपर्ने बताउँदै प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसदिनदेखि सदनमा अवरोध गर्दै आएका छन् ।
प्रतिनिधि सभाका जेठ १७, १८ र १९ गतेका बैठक विपक्षीको अवरोधका बिच पेलेर चलाएका सभामुख डोलप्रसाद अर्यालले समस्या समाधानका लागि सहमति जुट्न नसकेपछि ५ दिन बैठक स्थगित गरे । यद्यपि २४ गतेसम्म सभामुख अर्यालले समस्या समाधानका लागि कुनै पहल गरेनन् ।
जेठ २४, २५ र २६ गते ३ दिन प्रतिनिधि सभाका बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएका छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने तथा प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर आफ्नो भनाइ सच्याउनुपर्ने माग राख्दै अवरोध गर्दै आइरहेका छन् ।
सीमाको विषय भनेको राष्ट्र र राष्ट्रियतासँग जोडिन्छ । यस्तो गम्भीर विषयमा सभामुख अर्यालबाट सरकारका नाममा रूलिङ होस् भन्ने माग विपक्षीको छ । तर, सभामुख अर्याल भने यो विषय गम्भीर भएको र आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारका नाममा रूलिङ नगरेर पन्छिरहेका छन् ।
सभामुख अर्यालले मंगलबारको प्रतिनिधि सभा बैठकमा भनेका थिए, ‘विषय गम्भीर छ । यहाँहरूले उठाउनु भएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । सरकार पनि यो विषयका बारेमा जानकार छ । सरकारका मन्त्रीहरू यहाँ उपस्थित हुनुहुन्छ ।’
तर विपक्षीहरू भने सभामुखले सरकारका नाममा स्पष्ट रूलिङ गर्नुपर्ने बताइरहेका छन् ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सदनको अवरोध हटाउन दुई प्रस्ताव अघि सारिन् । पहिलो, प्रधानमन्त्रीले नेपालले भारतको भूभाग मिचेको भन्ने आशय झल्किने गरी दिएको अभिव्यक्तिलाई सत्तापक्षका सांसदहरूले हस्ताक्षर गरेर सदनबाट स्वीकार गर्नुपर्ने । दोस्रो, यदि त्यसो होइन भने प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर आफ्नो वक्तव्य गलत भएको स्वीकार गर्दै सच्याउनुपर्ने ।
नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुखसँग रूलिङको माग गरे । ‘बारम्बार हामीले भन्दै आएका छौं कि, यो सदनको अभिभावक तपाईं हो । सदनको गरिमामा एक इन्च तलमाथि हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ । हजुरले जबसम्म रूलिङ गरेर मसँग दुई तिहाइ छ, म सदन मान्दिनँ भन्दै केही सय मिटर दुरीमा रहनुभएको प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउन र यहाँ उपस्थित गराउन सक्नुहुन्न– हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्लेकार्ड प्रदर्शन गर्ने कार्य रोकिन्न । बेलैमा सभामुख महोदय र सरकारको ध्यान जाओस् ।’
तर, आजै बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई आवश्यकता लागेमात्रै संसदमा गएर जबाफ दिने प्रतिक्रिया सञ्चारकर्मीहरूलाई दिए ।
‘प्रधानमन्त्रीलाई आवश्यकता लागे संसदमा आएर जबाफ दिनुहुन्छ’ प्रवक्ता पोखरेलले भने । सञ्चारकर्मीले संसदमा प्रधानमन्त्रीको खोजी र जबाफको प्रतीक्षा भइरहेका बेला प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ? भन्ने सञ्चारकर्मीको थप प्रश्नमा पोखरेलले ‘प्रधानमन्त्रीलाई अप्ठेरो हुने भए त सुरुमै त्यहाँ जानुहुन्नथ्यो । उहाँ प्रस्तुतिमा जाँदा त सोध्ने प्रश्न नै रहेनछन् नि ! एकदमै कम प्रश्न आए, जति हामीले सोचेका थियौँ । प्रधानमन्त्रीले पनि प्रश्न आउँछ भनेर सोच्नुभएको थियो ।’
उनले प्रधानमन्त्रीलाई अवश्यकताबोध भएमा संसदमा उपस्थित भएर पुनः जबाफ दिनसक्ने बताए । ‘प्रधानमन्त्रीलाई मैले सदनमा सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ भने उहाँले गरिहाल्नुहुन्छ । आवश्यकताअनुसार प्रधानमन्त्रीले गर्नुहुन्छ भन्ने अस्ति पनि देखियो’, मन्त्री पोखरेलले भने ।
मन्त्री पोखरेलको यो भनाइबाट संसदमा सांसदले प्रधानमन्त्रीको जबाफ माग्दैमा नजाने नीति प्रधानमन्त्रीको देखिन्छ । प्रधानमन्त्री संसदमा आउन नचाहने र सभामुखले दुई तिहाइ छ भनेर रूलिङ गर्न नसक्ने हुँ्दा सदनमा देखिएको समस्या सहजै समाधान हुने देखिन्न ।
एकल बहुमतको सरकार चलाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग यस विषयमा छलफल गरेका थिए । त्यो छलफलमा पनि यो विषयमा कुरा मिल्न सकेन ।
यसले सभामुख रूलिङ गर्न डराउने, प्रधानमन्त्रीले संसदलाई नटेर्ने र विपक्षीहरू आफ्नो अडानबाट नडगमगाउने देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले सभामुखले रूलिङ गरे पनि प्रधानमन्त्री सदनमा आउने सम्भावना कम रहेको बताउँछन् । ‘सभामुखज्यूले रूलिङ गरेरमात्रै के गर्ने ? प्रधानमन्त्रीज्यू आउने सम्भावना कम देखिन्छ । त्यसैले सभामुखज्यू आफ्नो रूलिङले काम नगर्ने देखेर मेरो ध्यानाकर्षण भएको छ भन्दै बसिरहनु भएको छ,’ ती सांसदले रातोपाटीसँग भने ।