जनकपुरधाम । हिन्दु–मुस्लिम एकता र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले शनिबार बिहान जनकपुरधाममा सद्भाव र्याली आयोजना गरिएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलको नेतृत्वमा जनकपुरधामस्थित रेल्वे स्टेशनबाट सुरु भएको र्यालीले नगर परिक्रमा गरेको थियो। र्यालीमा ‘हिन्दु–मुस्लिम भाइ–भाइ, राष्ट्रिय एकता जिन्दावाद’ लगायतका नारा लगाइएको थियो।
र्यालीमा प्रतिनिधिसभा सदस्य मातृका यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, नागरिक समाज, मानवअधिकारकर्मी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै धनुषामा बिहीबारदेखि कर्फ्यु आदेश जारी गरिएको छ। जिल्लाको शान्ति–सुरक्षा अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रबार सर्वपक्षीय छलफल आयोजना गरेको थियो। सोही छलफलको निष्कर्षअनुसार शनिबार बिहान ८ बजे सद्भाव र्याली आयोजना गरिएको हो।
र्याली समापनतर्फ पुग्दा हिन्दू सम्राट सेनाका केही सदस्यले आफ्ना माग पूरा नभएको भन्दै केहीबेर विरोध जनाएका थिए। त्यसपछि रास्वपाका सांसद मनिष झाले उनीहरूलाई वार्ताका लागि आफूसँगै लगेका थिए।