राजविराज । कारागार कार्यालय सप्तरीका कैदीबन्दीले विभिन्न माग राख्दै दुई दिनदेखि आमरण अनसनमा बसेका छन् । कारागारका ‘ए’ ब्लकमा रहेका २०१ जना कैदीबन्दी शनिबारदेखि आमरण अनसनमा बसेको हो ।
‘ए’ ब्लकका नायक कामेश्वर यादवका अनुसार आफूहरूविरुद्ध प्रकाशित तथा प्रसारित भ्रामक र तथ्यहीन समाचार सच्याउनु पर्ने, ‘बी’ ब्लकका चौकीदारमाथि आक्रमण गर्ने दोषी कैदीबन्दीमाथि कानुनी कारबाही गर्नुपर्ने तथा सम्बन्धित कैदीबन्दीको अन्यत्र सरुवा नगरिएसम्म आमरण अनसन जारी रहने उनीहरुको माग छ ।
कारागार प्रमुख रूपक मण्डलले गत शुक्रबार लागूऔषध मुद्दामा रहेका केही कैदीबन्दीले ‘बी’ ब्लकका चौकीदार रामरिझन यादवमाथि आक्रमण गरी घाइते बनाएको जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा संलग्न कैदीबन्दीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
घटनासम्बन्धी भ्रामक तथा गलत समाचार प्रकाशन–प्रसारण हुँदा कारागार प्रशासन, कैदीबन्दी र कर्मचारीको आत्मसम्मानमा ठेस पुगेको भन्दै ‘ए’ ब्लकका कैदीबन्दी आमरण अनसनमा बसेका छन् ।
घाइते चौकीदार रामरिझन यादवले लागूऔषध मुद्दाका पाँच–छ जना कैदीबन्दीले आफूमाथि आक्रमण गर्दा टाउको (निधार) फुटेको र चारवटा टाँका लगाउनुपरेको बताउनुभयो । उहाँका अनुसार शरीरका विभिन्न भागमा चोट लागेको छ ।
आइतबार बिहान स्वास्थ्यमा थप समस्या देखिएपछि उहाँको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको थियो । चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएको उहाँले बताउनुभयो ।
उक्त घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको संयोजकत्वमा छानबिन समिति गठन गरिएको कारागार प्रमुख मण्डलले जानकारी दिनुभयो । समितिले घटनाको छानबिन गरी पेश गरिने प्रतिवेदनको आधारमा कारवाही बढाउने उहाँले बताउनुभयो ।