जिराभवानी । सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ को आयोजनामा माछा पालन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ श्री दिपनारायण आदर्श नमुना माध्यमिक विद्यालय, औराहा पञ्चगावाको सभा हलमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता वडा नं. २ का वार्ड अध्यक्ष श्री चिरञ्जीवी महतोले गर्नुभएको थियो।तालिममा भेटनरी अस्पताल तथा पशु सेवा बिरगंज पर्सा का मत्स्य अधिकृत राजेश्वर कुशवाहाले प्रशिक्षकको रुपमा माछा पालनको वैज्ञानिक विधि, तालाब व्यवस्थापन, प्रजाति छनोट, आहार व्यवस्थापन, रोग नियन्त्रण, र उत्पादन वृद्धिका उपायहरूबारे सहभागीलाई व्यावहारिक ज्ञान दिएका थिए। साथै, पशु प्राविधिक रोशन कडेलले माछा पालनसँग सम्बन्धित आधुनिक प्रविधि र अनुदानसम्बन्धी जानकारी प्रदान गरेका थिए।
कार्यक्रमका अध्यक्ष चिरञ्जीवी महतोले आफ्नो मन्तव्य राख्दै भन्नुभयो, “माछा पालन हाम्रो क्षेत्रको आय आर्जनको उत्कृष्ट माध्यम हो। तालिमको माध्यमबाट स्थानीय किसानहरूले आधुनिक विधिबाट उत्पादन वृद्धि गर्न सक्नेछन्। वडा कार्यालयले कृषि तथा पशुपालनको क्षेत्रमा आवश्यक सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाउँछ।”
तालिममा वडा नं. २ का पोखरी राखेका चालीस जना कृषकहरु उपस्थिति रहेको थियो। सहभागीहरूले तालिम अत्यन्त उपयोगी र व्यावहारिक रहेको प्रतिक्रिया दिएका थिए।
यस तालिमले माछा पालनप्रति स्थानीय किसानहरूको रुचि र दक्षता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।