रौतहट । गुजरा नगरपालिका–५ इस्लामपुर चोकनजिक सडक किनारमै छ रहमान आधारभूत विद्यालय । २०६५ मा स्थापना भएको यस विद्यालयको व्यवस्थापन समितिमा अध्यक्ष छन्, शेख मजिबुर रहमान । उनी स्थापनाकालदेखिकै अध्यक्ष हुन् ।
विद्यालयमा प्रधानाध्यापक उनकै छोरा अफरोज आलम छन् । रहमानकी छोरी गुलनाज खातुन शिक्षिका र बुहारी समरिना खातुन कार्यालय सहयोगी छन् ।
सोमबार विद्यालय पुग्दा प्रधानाध्यापक अफरोज, उनकी बहिनी गुलनाज र श्रीमती समरिना विद्यालयमा उपस्थित थिएनन् । विद्यालय सञ्चालनमा परिवारकै सदस्य हुँदा पढाइ लथालिङ्ग भएको भन्दै स्थानीयले नयाँ व्यवस्थापन समिति गठन गर्न दबाब दिँदै आएका छन् । गत ५ फागुनमा व्यवस्थापन समिति गठन प्रक्रिया सुरु गर्न खोज्दा प्रधानाध्यापक आलमले विवाद निकालेर झडपको अवस्था सिर्जना गरेको वडाध्यक्ष शेख जमालुद्धिनले आरोप लगाए ।
‘विद्यालयलाई फरक ढंगले लैजाने गाउँलेको सोच हो, तर १६ वर्षदेखि व्यवस्थापन समितिमा एउटै छन्, नयाँ आउन दिँदैनन्,’ उनले भने ।
विद्यालयलाई परिवारवादबाट छुटकारा दिलाउन सबै गाउँले एकजुट भए पनि ५ फागुनको विवादपछि व्यवस्थापन समिति गठन हुन नसकेको वडाध्यक्ष जमालुद्धिनले बताए । ‘बुबा–छोराले विवाद ल्याउन थालेपछि समिति गठन नै हुन सकेको छैन,’ उनले भने ।
विद्यालय व्यवस्थापन समितिको कार्यकाल तीन वर्षको हुन्छ । एउटै व्यक्ति लामो समय अध्यक्ष भएका कारण विद्यालयको प्रगति हुन नसकेको स्थानीयको आरोप छ । नयाँ समिति गठन गर्न खोज्दा चर्किएको विवादका कारण कुटाकुट हुँदा प्रधानाध्यापक आलम सामान्य घाइतेसमेत भएका थिए । प्रधानाध्यापक आलमले आफू उपचारकै क्रममा वीरगन्ज गएको बताए ।
नगरपालिकाको अभिलेखमा यस विद्यालयमा २ सय ८० विद्यार्थी भर्ना भएका छन् । सोमबार २० जना मात्र हाजिर थिए । स्थानीयको विवादकै कारण विद्यार्थी कम आउन थालेको नगरपालिकाका शिक्षा संयोजक शिवमंगल साहको भनाइ छ । शिक्षिका सविता विकले भने चाडपर्वका कारण विद्यार्थी कम आएको दाबी गरिन् । एउटै परिवारले विद्यालय चलाइरहेको बारे बुझ्न खोज्दा भने उनी अक्मकिइन् ।
कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा कार्यालयसमेत छैन । विद्यार्थी पढाउने कक्षाकोठामै दराज राखिएको छ । लामो समयसम्म हाजिर खाता प्रधानाध्यापक आलमले लुकाएर राखेको वडाध्यक्ष जमालुद्धिनको आरोप छ । विद्यालयमा एक जना पनि स्थायी दरबन्दीका शिक्षक छैनन् । प्रधानाध्यापक पनि राहत दरबन्दीका हुन् । विद्यालयमा २०७० सालमा दुई कोठे पक्की भवन बनेको थियो भने २०७८ मा अर्को दुई कोठे पक्की भवन निर्माण भएको छ । पढाइ भने ६ कक्षासम्म हुन्छ । विद्यालयको साइन बोर्ड सडक बत्ती राखिएको पोलमा झुन्ड्याइएको छ ।
विद्यालयमा बाल विकास र अन्य शिक्षक गरी ६ जना कार्यरत छन् । तर नगरपालिकाबाट प्रधानाध्यापक, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीको मात्र तलब भुक्तानी हुँदै आएको शिक्षा संयोजक साहले जानकारी दिए ।
उनका अनुसार राहत दरबन्दीमा कार्यरत प्रधानाध्यापकको २८ हजार, कार्यालय सहयोगीको ८ हजार र बाल विकास सहजकर्ता एक जनाको १० हजार नगरपालिकाबाट भुक्तानी हुन्छ । ‘व्यवस्थापन समिति अध्यक्ष वा प्रधानाध्यापकले विद्यालयमा जसलाई राखे पनि नगरपालिकाबाट तीन जनालाई मात्र तलब दिने गरिएको छ,’ साहले भने, ‘त्यही तलबबाट प्रधानाध्यापकले अन्यलाई बाँडेर दिने गर्छन् ।’
विद्यालयका लागि अध्यक्ष रहमानले २ कट्टा जग्गा दान गरेका थिए । त्यसैको आडमा अहिलेसम्म उनी अध्यक्ष बन्दै आएको वडाध्यक्ष जमालुद्धिनको भनाइ छ । नगरपालिकाका शिक्षा संयोजक साह भने परिवारवादको आरोप लागे पनि विद्यालय राम्रै गरी सञ्चालन भइरहेको दाबी गर्छन् । ‘यो स्कुल प्रतिशोध साँध्ने थलो जस्तै भयो,’ उनले भने, ‘समिति गठन प्रक्रियामा विरोध हुँदा हामीले समाधानको प्रयास गरेकै हो ।’
आफ्नो तलबबाट अन्य शिक्षकलाई थोरै दिएर विद्यालय सञ्चालन गरिरहेको प्रधानाध्यापक आलमले बताए । ‘विद्यालय राम्रो बनाउनकै लागि काम गरिरहेको छु, नयाँ समिति गठनमा मेरो कुनै अवरोध होइन । गाउँलेले नै विवाद झिकेर आक्रमण गर्न खोजेपछि प्रक्रिया रोकिएको हो,’ उनले भने ।
यसअघि एउटै परिवारले चलाएको गौर नगरपालिका–४ स्थित टिकुलिया गाउँको आधारभूत विद्यालय नगरपालिकाले २०७९ जेठमा बन्द गराएको थियो ।
कक्षा ६ सम्म पढाइ हुने भनिएको उक्त विद्यालयमा बाल विकासदेखि ६ कक्षासम्मका २४ विद्यार्थीलाई एउटै कोठामा राखेर अध्यापन गराइरहेको भेटिएपछि विद्यालय नै बन्द गरिएको थियो । त्यहाँको व्यवस्थापन समिति अध्यक्षमा रामेश्वर यादव, प्रधानाध्यापक उनकी बुहारी सावित्री यादव, बाल विकास सहजकर्ता अर्की बुहारी जयमाला यादव, राहत शिक्षिका नातिनी निक्की यादव र कार्यालय सहयोगीमा छोरा अशोक यादव थिए ।
अशोक प्रधानाध्यापक सावित्रीका श्रीमान् हुन् । उक्त विद्यालयका जग्गादाता पनि अध्यक्ष रामेश्वर नै हुन् ।