काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आफूलाई “पदलोभी” भन्नेहरूलाई लक्षित गर्दै भारतीय दूतावासको दबाबविरुद्ध कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै साम्पाङले देश संकटमा छँदा ५०० किलोमिटर टाढाबाट आइ जिम्मेवारी लिन खोजेको स्मरण गर्दै, विदेशी आदेशअनुसार चल्ने पद आफूलाई स्वीकार्य नभएको स्पष्ट पारेका हुन्।
“मलाई पदको लोभि भन्नेहरूलाई के थाहा ? देश दन्दनी जलिरहेको बेला सबै घरभित्र लुकेर बसेका थिए, म ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिन खोजेको हुँ। खानेपानी र श्रम तथा रोजगार मन्त्रालय दिंदा पनि मैले छोडिदिएको हुँ,” उनले भने।
साम्पाङले थपे, “भारतीय दूतावास जानु भन्ने सन्देश आयो, म हच्किएँ। पछि थाहा भयो, विरोधीहरू हुन्। म हर्क साम्पाङ हो, विदेशी दूतावासको आदेश मान्ने होइन।”
उनको भनाइले भारतीय दूतावासले आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको संकेत गर्ने बताइएका छन्। साम्पाङको यो अभिव्यक्तिले नेपाली राजनीतिमा विदेशी प्रभावबारे नयाँ बहसलाई बल पुर्याएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, साम्पाङको वक्तव्यले राष्ट्रिय स्वाभिमान र विदेशी हस्तक्षेपबारे जनचासो बढाएको छ। उनी विगतदेखि नै “स्वच्छ छवि र स्वतन्त्र धारणा”का कारण चर्चामा रहँदै आएका छन्।