जिराभवानी । सखुवाप्रसौनी गाउँपालिका–२ स्थित खुला मञ्चमा जनमत पार्टीको सखुवाप्रसौनी गाउँपालिका समिति द्वारा आयोजित होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका अध्यक्ष गाउँ ईकाई कमिटीका अध्यक्ष देबेन्द्र रवाणी रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा सम्माननीय सांसद अब्दुल खानको उपस्थिति रहेको थियो। विशिष्ट अतिथि जिल्ला अध्यक्ष ओम प्रकाश रहनुभएको थियो भने अन्य अतिथिहरूमा रम्भा मिश्रा, शम्भु राउत (जय भोले) लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
प्रमुख अतिथि सांसद अब्दुल खानले कार्यक्रमलाई सम्बोधन गर्दै होली पर्व आपसी सद्भाव र सामाजिक एकताको प्रतीक भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, "समाजलाई जाति, धर्म, क्षेत्र र अन्य विभाजनबाट मुक्त राखी सबै नागरिकलाई समान अवसर प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य हो। होलीजस्तो सांस्कृतिक पर्वले समाजमा प्रेम, सहिष्णुता र भाइचारा बढाउने विश्वास गर्न सकिन्छ।"


कार्यक्रमका अध्यक्ष देबेन्द्र रवाणीले आफ्नो मन्तव्य राख्दै होली पर्वले सबैलाई जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, "यस प्रकारका कार्यक्रमहरूले समाजमा मेलमिलाप र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्छन्। हामी सबै मिलेर समानता, विकास र समृद्धिको बाटो अपनाउनुपर्छ।"
कार्यक्रममा सहभागी अतिथिहरूले पनि आफ्नो विचार प्रस्तुत गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता सांस्कृतिक कार्यक्रमहरूको आवश्यकता रहेको बताएका थिए।
कार्यक्रमको अन्त्यमा होलीको रङ लगाएर शुभकामना आदान–प्रदान गरिएको थियो। उपस्थित सम्पूर्ण जनसमुदायले उल्लासपूर्वक होली पर्व मनाएका थिए।