जिराभवानी । पर्साको ठोरी-५, सुवर्णपुर मकरडाडामा स्विमिङपुलसहितको भव्य होटल सञ्चालनमा आउने भएको छ । युवा व्यवसायी विक्रम बोम्जनको लगानीमा निर्माणाधीन ओमबी सुवर्णपुर स्विमिङपुल एन्ड होटल यही बैशाख १९ गते शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने बताइएको छ ।
होटलमा स्विमिङपुल, बार, रमणीय दृश्यसहितको रेस्टुरेन्ट, विशेष अवसरमा गीत-सङ्गीतलगायतका मनोरञ्जनात्मक सुविधाहरू उपलब्ध हुनेछन् । किफायती मूल्यमा विलासी अनुभव प्रदान गर्ने लक्ष्य रहेको सञ्चालक बोम्जनले बताए ।
होटल नजिकैका क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यहरू अवस्थित छन् । पर्सा राष्ट्रिय निकुञ्जमा जिप र हात्ती सफारी प्रमुख आकर्षण हुन् । आरामदायी बसाइ, वन्यजन्तु अवलोकन र मनोरञ्जनात्मक गतिविधिका लागि यो होटल उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
होटलको ५ किलोमिटर पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज, दक्षिण-पश्चिम भारतमा वाल्मीकि टाइगर रिजर्भ, र १ किलोमिटर उत्तरमा पर्सा राष्ट्रिय निकुञ्जको गडुवा पोस्ट रहेको छ। यो क्षेत्र चारकोशे झाडीको नामले प्रसिद्ध छ, जहाँ हात्ती, बाघ र नेपालमा मात्र पाइने दुर्लभ चराहरू अवलोकन गर्न सकिन्छ ।
प्राकृतिक सौन्दर्य, वन्यजन्तु अवलोकन र आधुनिक सुविधायुक्त होटलको सञ्चालनले ठोरी क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा थप आकर्षक बन्ने विश्वास गरिएको छ । सञ्चालक बोम्जनले भने, "हामी पर्यटकहरूलाई किफायती मूल्यमा उत्कृष्ट अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ ।" यो होटलले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।