वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा विवाह, उत्सव, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा आतिशबाजी र पटकाको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । साथै, ध्वनि प्रदूषण नियन्त्रणका लागि राति १० बजेपछि डिजे बजाउनसमेत निषेध गरिएको छ ।
निर्णय बुधवार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले गरेको हो ।
बैठकमा विवाह, छेका (टीका टालो), व्रतबन्ध, उत्सव, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा आतिशबाजी र पटकाको प्रयोगलाई पूर्ण रूपमा बन्देज लगाउने सहमति भएको छ । ध्वनि प्रदूषणलाई मध्यनजर गर्दै डिजेको प्रयोगलाई पनि क्रमशः निरुत्साहित गर्ने रणनीति अपनाइएको छ ।
हाललाई राति १० बजेपछि डिजे पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । उनले भने, “छिट्टै अन्य सरोकारवालाहरूसँग थप बैठक राखेर पर्सा जिल्लामा डिजेलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरिनेछ ।”
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बैठकमा भएको सहमतिलाई सबै पक्षले अक्षरशः पालना गर्नुपर्नेमा जोड दिए । “यदि निर्णयको उल्लङ्घन भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ,” उनले चेतावनी दिए ।
सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले भारतीय सीमा नाकाबाट अवैध रूपमा भित्रिने डिजेका उपकरण, पटाका र आतिशबाजीजन्य वस्तुहरूमा कडा निगरानी र चेकजाँच गरिने प्रतिबद्धता व्यक्त गरे । उनले यस्ता गतिविधिलाई नियन्त्रण गर्न सीमा क्षेत्रमा थप कडाइ गरिने बताए ।
होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले डिजेको प्रयोगलाई तत्काल पूर्ण रूपमा बन्द गर्न व्यवहारिक कठिनाइ रहेको बताए । “पार्टी प्यालेस वा होटेलमा भोजभतेर वा उत्सवका लागि अग्रिम बुकिङ हुने गर्छ, र धेरैजसो ग्राहकले डिजे सहितको प्याकेज बुक गर्छन् । तत्काल पूर्ण प्रतिबन्ध सम्भव नभए पनि राति १० बजेपछि डिजे बन्द गर्ने निर्णयमा सहमति भएको छ,” उनले भने । उनले डिजेको प्रयोगलाई क्रमशः घटाउन केही समय आवश्यक रहेको उल्लेख गरे ।
बैठकमा होटेल तथा पर्यटन व्यवसायी सङ्घका महासचिव माधव बस्नेत, आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रतिनिधि, पर्यटन कार्यालय पर्साका प्रमुखलगायत वीरगञ्जका होटेल तथा पर्यटन व्यवसायीहरूको सहभागिता थियो ।
निर्णयले वीरगञ्जमा ध्वनि प्रदूषण र वायु प्रदूषण नियन्त्रणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । आतिशबाजी र पटकाको प्रयोगले वातावरणमा नकारात्मक असर पार्नुका साथै ध्वनि प्रदूषणका कारण स्थानीय बासिन्दालाई असुविधा हुँदै आएको गुनासो बढ्दो थियो । डिजेको प्रयोगमा गरिएको नियन्त्रणले रातको समयमा शान्त वातावरण कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले निर्णयको प्रभावकारी कार्यान्वयनका लागि थप सरोकारवालाहरूसँग छलफल गरिने र डिजेको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन दीर्घकालीन रणनीति तयार गरिने बताएका छन् । साथै, स्थानीय प्रशासन र प्रहरीले नियम उल्लङ्घन गर्नेहरूमाथि कडा निगरानी राख्ने जनाएको छ ।