सप्तरी । राजविराज नगरपालिका पछिल्लो पाँच दिनदेखि एउटै कोठामा सञ्चालनमा आएको छ । जेनजीको आन्दोलनमा नगरपालिकामा आगजनी भएर पूर्ण क्षति भएपछि बाँकी रहेको एउटा कोठाबाट कर्मचारीहरूले अत्यावश्यक काम सुरू गरेका हुन् ।
नगरपालिका कार्यालयको सबै कोठाको सामान जलेर खरानी भएर बस्न सक्ने कोठा नभएपछि आगलागीबाट जोगिएको बैठक कोठामा कर्मचारीहरू बसेर कामको थालेका हुन् ।
कार्यालय सञ्चालन गर्नका आवश्यक सरसामान छैन । अर्का तिर अत्यावश्यक काम गर्नुपर्ने बाध्यता भएकाले जसोतसो एउटै कोठामा काम सञ्चालन गरेको राजविराज नगरपालिकाका नगर प्रमुख इसरत परविनले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हाम्रो सटरहरू खाली छ । विस्तारै सटरहरूमा शाखाहरू विस्तार गरेर जनतासम्म प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरू सञ्चालनमा ल्याउने छौँ ।’’
सामानहरू विस्तारै आउँला, भवन पनि पुनर्निर्माण होला, तर प्रशासन तथा कानुन शाखा, राजस्व शाखा, जिन्सी शाखा लगायतमा यस नगरपालिकाको स्थापनाकाल २०१६ सालदेखि रहेको दस्तावेज जलेर नष्ट भएको छ यस क्षतिपूर्तिको भरपाई कसरी हुन्छ ? उहाँको प्रश्न छ ।
यसैबिच राजविराज नगरपालिकाको तीनवटा वडामा अहिलेसम्म कार्यालय सञ्चालनमा आउन सकेको छैन । जेनजीको आन्दोलनको क्रममा आन्दोलनकारीले राजविराज नगरपालिकाको वडा नम्बर ३, ४, ५ मा आजगनी, तोडफोड र लुटपाट गरेपछि पूर्ण क्षति र वडा नं ८ को कार्यालयमा आंशिक क्षति भएपछि एक हप्तादेखि यी वडा कार्यालयहरू सञ्चालनमा आउन सकेको छ । वडाहरू सफा र व्यवस्थित गरेर तत्काल सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो ।
जेनजीको आन्दोलनको क्रममा यस पालिका कार्यालय र वडा गरी करिब १५ करोड २३ लाख बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।