वीरगन्ज । वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) नजिकै पार्किङ गर्ने क्रममा एउटा अटो चिप्लिएर सडक छेउको नालामा पल्टिएको छ।
मधेस प्रदेश ०३–००१ ह २२०९ नम्बरको अटो पार्किङ गर्ने क्रममा नालामा पल्टिएको हो। अटो चालक वीरगन्ज महानगरपालिका–२४ रामगढवाका अरविन्द पटेलका अनुसार नालाको छेउमा अटो पार्किङ गर्ने क्रममा चक्काको सन्तुलन बिग्रिएपछि अटो पल्टिएर नालामा खसेको हो।
घटनाका बेला अटो खाली रहेकाले कुनै मानवीय क्षति हुन पाएन। दुर्घटनापछि जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको सशस्त्र प्रहरी बलको टोली र स्थानीय नागरिकको सहयोगमा अटोलाई नालाबाट सकुशल बाहिर निकालिएको छ।
घटनामा अटोको ब्याट्रीमा भने विशेष क्षति पुगेको जनाइएको छ। अटोमा भएको अन्य सम्भावित क्षतिको विवरण आउन बाँकी छ।