बारा । बाराको फेटा गाउँपालिका–३ मा निर्मित अधुरो आधारभूत अस्पताल उद्घाटनको विषयलाई लिएर शनिबार भएको विवाद, प्रदर्शन तथा झडपको स्थलगत छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले तीन सदस्यीय छानबिन टोली गठन गरेको छ।
मधेस प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)प्रभु प्रसाद ढकालको नेतृत्वमा छानबिन टोली गठन गरेको हो। टोलीमा प्रहरी उपरीक्षक (एसपी) भुनेश्वर प्रसाद साह र प्रहरी निरीक्षक जटा शंकर यादव सदस्य रहेका छन्। टोलीलाई फेटामा भएको विवाद, प्रदर्शन र झडपको स्थलगत छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
यसैबीच, घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट मुक्त गरिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको प्रहरी उपरीक्षक (एसपी)नरेन्द्र कुँवरले जानकारी दिए। लामाको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई इलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखका रूपमा पठाइएको एसपी कुँवरले बताए।
फेटामा अधुरो १५ शैय्याको आधारभूत अस्पताल उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए।त्यसक्रममा प्रदर्शन उग्र बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।
झडपका क्रममा प्रहरीको गोली लागेर फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका करिब १५ वर्षीय छोरा आदित्य पासवान गम्भीर घाइते भएका छन्। उनको तिघ्रामा गोली लागेको थियो।
घाइते पासवानकाे वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनापछि स्थानीयले अस्पताल उद्घाटनको विरोध गर्दै अस्पतालमा ढुंगामुढा तथा तोडफोड गर्नुका साथै करिब ९ वटा मोटरसाइकलमा आगजनी गरेका थिए। झडपमा पाँच प्रहरीसमेत घाइते भएका थिए।