बारा । बाराकाे फेटा स्वास्थ्य चौकी घटना प्रकरणपछि थुनिएका इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारी निकालिएका छन् ।
स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि इन्स्पेक्टरसहित थुनिएका करिब ३८ कर्मचारीको झन्डै दुई घण्टापछि स्वास्थ्य चौकीको मेन बिल्डिङबाट सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार बिहान घटना भइसकेपछि त्यहाँ स्वास्थ्य चौकीको मुख्य भवनमा इन्स्पेक्टरसहित केही निजामती कर्मचारी पनि थिए, अवस्था बिग्रेपछि सबैजना त्यही घेरिएका थिए ।
साढे १० बजेदेखि थुनिएका सरकारी कर्मचारीलाई झन्डै २ घण्टापछि सकुशल निकालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
शनिबार बिहान फेटा गाउँपालिकाको वडा नम्बर ३ मा आधारभूत अस्पताल उद्घाटन गर्न खोज्दा गाउँपालिका प्रमुख रुस्तम अन्सारी र उनको विपक्षी समूहबिच विवाद भएको थियो ।
विवादले उग्ररुप लिएपछि प्रहरीले नियन्त्रणमा लिनका लागि गोली चलाएको जानकारी दिएको छ ।