बीरगञ्ज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. २, मनवा बजारस्थित नेपाल राष्ट्रिय आधारभूत (माध्यमिक) विद्यालय बडेर्वामा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूलाई लक्षित गर्दै लागू औषध दुर्व्यसनी तथा सामाजिक विकृतिविरुद्ध एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
नारायणी खबर मिडिया पर्साको आयोजना, पर्सागढी नगरपालिका वडा नं. १ को सहकार्य तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मनवा प्रहरी चौकीको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक चेतमन प्रसाद दासले जानकारी दिनुभयो।
विद्यालयका प्रधानाध्यापक चेतमन प्रसाद दासको अध्यक्षतामा आयोजित कार्यक्रममा मनवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ऋषिराज भट्टराई, शिक्षाविद् बालेश्वर चौधरी तथा नेपाल पत्रकार महासंघ पर्साका सदस्य एवं शिक्षा पत्रकार संघ पर्साका जिल्ला अध्यक्ष प्रमोद यादवले लागू औषधको असर, बचावटका उपाय र कानुनी प्रावधानबारे प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा पर्सागढी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजकपुर खवास थारुको प्रमुख आतिथ्यता रहेको थियो भने पत्रकार चिरञ्जीवी यादव लगायत स्थानीय बुद्धिजिवी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि एवं वडा अध्यक्ष राजकपुर खवास थारुले लागू औषध र सामाजिक कुरीतिविरुद्ध स्थानीय सरकार पूर्ण रूपमा प्रतिबद्ध गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो,"युवापुस्ता नै देशको भविष्य भएकाले उनीहरूलाई कुलतबाट जोगाउनु हामी सबैको साझा दायित्व हो। वडा स्तरबाट हुने यस्ता सचेतनामूलक कार्यक्रम र अभियानलाई हामी निरन्तर सहयोग र प्रवर्द्धन गर्नेछौँ। समाज सुधारका लागि जनप्रतिनिधि, प्रहरी र नागरिक समाज मिलेर अघि बढ्नुपर्छ।"
कार्यक्रमका अध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक चेतमन प्रसाद दासले विद्यार्थीहरूलाई सानै उमेरदेखि सही र गलत छुट्याउन सक्ने बनाउन यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "पुस्तकीय ज्ञानसँगै विद्यार्थीहरूलाई सामाजिक दायित्व र कुलतका दुष्परिणामबारे जानकारी गराउनु अति आवश्यक भइसकेको छ। विद्यालय केवल अक्षर चिन्ने थलो मात्र नभई सभ्य नागरिक तयार पार्ने थलो पनि हो। विद्यार्थीहरूले यहाँ सिकेका कुराहरू आफ्नो घर, छरछिमेक र साथीभाइमाझ बाँडेर सचेतना फैलाउनेछन् भन्ने अपेक्षा लिएको बताउनु भयो।"
त्यस्तै पत्रकार चिरञ्जीवी यादवले समाजमा व्याप्त विकृति र विसङ्गति उजागर गर्न तथा त्यसको न्यूनीकरणका लागि सञ्चार क्षेत्रले सधैँ सकारात्मक भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, "लागू औषधको दुर्व्यसनले व्यक्तिलाई मात्र होइन, सिङ्गो परिवार र समाजलाई नै ध्वस्त पार्छ। मिडिया र पत्रकारिता क्षेत्रले यस्ता सामाजिक मुद्दाहरूलाई निरन्तर उठाएर स्थानीय प्रशासन र समाजलाई खबरदारी गरिहन्नु पर्छ।"
समाजमा बढ्दो विकृति र गुनासाहरू
कार्यक्रमका क्रममा सहभागी विद्यार्थी तथा स्थानीयहरूले समाजमा देखिएका विभिन्न विकृति र समस्याहरूप्रति चिन्ता व्यक्त गर्दै आफ्ना गुनासाहरू राखेका थिए। उनीहरूले गाउँघरमा युवाहरू मदिरा, गाँजा, चरेश, हिरोइन, नटरोभ्याट, नुर्फीन जस्ता लागू पदार्थ सेवन गरी तीब्र गतिमा मोटरसाइकल चलाउने गरेको कारण सवारी दुर्घटनाहरू दिनप्रतिदिन बढिरहेको बताए।
त्यस्तै, लागू औषधको कुलतले गर्दा घरमा महिला हिंसा, आपसी झैझगडा, चोरीका घटना (मोटरसाइकल, साइकल, घरको गरगहना) तथा कुलत पूर्ति गर्न घरका सामान बिक्री गर्ने प्रवृत्ति बढेको सहभागीहरूको गुनासो थियो। यसका साथै, यस क्षेत्रमा बालविवाह र दाइजो प्रथा जस्ता कुरीतिहरू पनि डरलाग्दो रूपमा बढ्दै गएको उल्लेख गरियो। कम उमेरमा विवाह हुँदा शारीरिक विकास नभई जन्मने बच्चामा कुपोषणको समस्या देखिने तथा दाइजोका कारण विवाहित महिलाहरूले घरेलु हिंसा सहनुपरेको गम्भीर विषयमा पनि सहभागीहरूले ध्यानाकर्षण गराएका थिए।
कानुनी उपचार र बच्ने उपायबारे प्रशिक्षण
कार्यक्रमका प्रशिक्षकहरूले युवापुस्तालाई लागू औषध र विभिन्न सामाजिक विकृतिबाट बचाउन अपनाउने उपायहरू, यसले निम्त्याउने असर तथा यससम्बन्धी कानुनी प्रक्रियाहरूका बारेमा सहजीकरण एवं प्रशिक्षण दिएका थिए। वक्ताहरूले समाजलाई स्वस्थ र सुरक्षित बनाउन विद्यार्थी, अभिभावक, विद्यालय र स्थानीय प्रशासनको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।