काठमाडाैं । नेपाल पत्रकार महासंघले पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकड र न्युजरुममाथि प्रहरी हस्तक्षेपविरुद्ध शनिबार बिहान प्रदर्शन गरेको छ ।
शुक्रबार साँझ बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले माइतीघर मण्डलामा प्रदर्शन आह्वान गरेको हो ।
प्रदर्शनमा महासंघका पदाधिकारी पत्रकारसहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरुको उपस्थिती रहेको छ । पानी परिरहे पनि महसंघको अगुवाईमा प्रर्दशन जारी छ ।
शुक्रबार साँझ नयाँ पत्रिका समाचारकक्षमा प्रवेश गर्नुअघि नै प्रहरीले अन्य चार सञ्चारगृहमा पुगेर पत्रकारलाई धरपकड र पक्राउ गरेकाे थियो ।
सोही क्रममा नेपाल प्रेस डटकमका विश्वमणि सुवेदी, मोटिभेट न्युज डटकमका शोभराज बराल र डिएनए खबरका धीरज बस्नेतलाई पक्राउ गरिसकेको थियो । प्रहरी दियो पोस्ट डटकमको कार्यालयमा पनि धरपकडका लागि पुगेको थियो ।
पक्राउ परेका पत्रकारको रिहाइका लागि पत्रकार महासंघका प्रतिनिधिसहितका सञ्चारकर्मी साइबर ब्युरो पुगेका थिए । चौतर्फी विरोधपछि तीनै पत्रकारलाई प्रहरीले रिहा गरेको थियो ।