पर्सा । पर्साको पोखरिया क्षेत्रमा शान्तिसुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्ने जिम्मेवारी पाएको इलाका प्रहरी कार्यालय पोखरियाको कार्यक्षमतामाथि पछिल्लो समय गम्भीर प्रश्न उठ्न थालेको छ। एकातिर विद्यालयमा चोरीका घटना भइरहेका छन् भने अर्कोतिर अवैध घरेलु मदिरा नियन्त्रण गर्ने क्रममा प्रहरी टोली नै विवादमा परेको घटनाले प्रहरी प्रशासनको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरियाको कार्यक्षेत्रअन्तर्गत पर्ने पकाहाँ मैनपुर गाउँपालिका–२ स्थित डेभलपमेन्ट अफ स्किल बोर्डिङ स्कुलमा चोरी भएको छ। अज्ञात व्यक्तिहरूले विद्यालयबाट दुई थान प्रिन्टर, दुई थान पंखा, पानी तान्ने मोटर, सीसीटीभी क्यामेरालगायतका सामग्री चोरी गरेका छन्। शैक्षिक संस्थाजस्तो संवेदनशील स्थानमा चोरी हुनु र विद्यालयको सम्पत्तिसमेत सुरक्षित रहन नसक्नुले स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्थामाथि चिन्ता बढाएको छ।
विद्यालयमा चोरी गर्ने व्यक्ति को हुन्, चोरी भएका सामग्री कहाँ छन् र घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न प्रहरीले के-कस्तो अनुसन्धान गरिरहेको छ भन्ने विषयमा स्थानीयवासीले चासो व्यक्त गर्न थालेका छन्। चोरीका घटनामा प्रभावकारी अनुसन्धान र दोषीमाथि कारबाही हुन नसके अपराध गर्नेहरूको मनोबल बढ्ने जोखिमसमेत देखिएको छ।
त्यस्तै, शनिबार पोखरिया बजार क्षेत्रमा घरेलु मदिरा नियन्त्रणमा लिन पुगेको प्रहरी टोली अर्को विवादमा परेको छ। इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले विभिन्न पसलबाट घरेलु मदिरा नियन्त्रणमा लिएर प्रहरीको गाडीमा राखी लैजाँदै गर्दा पसल सञ्चालकहरूले प्रहरीको गाडी नियन्त्रणमा लिएको र गाडीबाट मदिरा उतारेको घटना सार्वजनिक भएको छ।
अझ गम्भीर पक्ष त के छ भने, प्रहरीको गाडी नियन्त्रणमा लिई मदिरा उतारिएको भनिएको घटनामा प्रहरी टोली प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लागेको छ। कानुन कार्यान्वयन गराउन खटिएको प्रहरी टोलीकै अगाडि नियन्त्रणमा लिइएको सामग्री खोसिएको हो भने यसले प्रहरीको कमान्ड, कार्यक्षमता र कानुन कार्यान्वयन गर्ने क्षमतामाथि गम्भीर प्रश्न उठाउँछ।
घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गर्नु सकारात्मक भए पनि नियन्त्रणमा लिइएको सामग्री सुरक्षित राख्न र कानुनअनुसार आवश्यक कारबाही गर्न नसक्नुले अभियानको प्रभावकारितामै प्रश्न उठाएको छ। प्रहरीको उपस्थितिमै नियन्त्रणमा लिइएको मदिरा फिर्ता लगिएको हो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठेको छ।
यता, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालले घरेलु मदिरा नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको र आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिइने बताएका छन्। तर, अभियान सञ्चालन भइरहेको दाबी र प्रहरीकै नियन्त्रणमा रहेको भनिएको मदिरा खोसिएको घटनाबीच देखिएको विरोधाभासबारे स्पष्ट जवाफ आवश्यक देखिन्छ।