बारा । बाराका पत्रकार वीरेन्द्रकुमार साहको अपहरण तथा हत्या भएको करिब १९ वर्षपछि घटनाका मुख्य अभियुक्त लालबहादुर चौधरी धामी अदालतमा उपस्थित भएका छन्। बिहीबार बारा जिल्ला अदालतमा हाजिर भएका चौधरीलाई अदालतले पुर्पक्षका लागि वीरगन्ज कारागार पठाउने आदेश दिएको छ।
२०६४ सालमा भएको पत्रकार साहको अपहरण तथा हत्या घटनामा संलग्न रहेको अभियोग लागेका चौधरी लामो समयदेखि फरार थिए। घटनामा संलग्न अन्य अभियुक्त पक्राउ परिसकेका छन् भने उनीहरूमध्ये केहीले अदालतले तोकेको सजायसमेत भुक्तान गरिसकेका छन्।
एभिन्युज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा आबद्ध रहेर पत्रकारिता गर्दै आएका साहलाई २०६४ असोज १८ गते बाराको साविक उम्जन गाविसअन्तर्गत पिपरा बजारबाट अपहरण गरिएको थियो। उनीसँगै रहेका रामदेव दासलाई समेत अपहरण गरिए पनि पछि मुक्त गरिएको थियो।
दासले प्रहरीलाई दिएको बयानका आधारमा घटनाको अनुसन्धान अघि बढाइएको थियो। अपहरण भएको करिब ३५ दिनपछि २०६४ कात्तिक २२ गते बाराको साविक डुमरवाना गाविस–७ स्थित टाँगियाबस्ती नजिकको जंगलमा खाल्डोमा गाडिएको अवस्थामा साहको शव फेला परेको थियो। अनुसन्धानका क्रममा उनलाई गोली हानी हत्या गरिएको खुलेको थियो।
पाँच जनाविरुद्ध हत्या अभियोग
अनुसन्धानका क्रममा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताहरू लालबहादुर चौधरी, कुन्दन भनिने नरेन्द्र फौजदार, हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी, मनेजर गिरी र रामएकवाल सहनी घटनामा संलग्न रहेको अभियोग लागेको थियो।
घटनापछि मनेजर गिरी २०६५ असोज १९ गते र रामएकवाल सहनी सोही वर्ष पुस २१ गते पक्राउ परेका थिए। उनीहरूविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाइएकामा २०६८ जेठ १६ गते दुवैलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो। पछि बाँकी कैद मिनाहा भएपछि उनीहरू कारागारमुक्त भएका थिए।
त्यस्तै, लामो समयदेखि फरार रहेका कुन्दन भनिने नरेन्द्र फौजदार २०७६ फागुन २५ गते बारागढी गाउँपालिका–६ गडहलस्थित आफ्नै घरबाट पक्राउ परेका थिए। हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी २०७७ भदौ २५ गते कोल्हबी नगरपालिका–४ सपहीबाट पक्राउ परेका थिए।
बारा जिल्ला अदालतले २०७८ पुस २६ गते गरेको फैसलामा फौजदारलाई पाँच वर्ष र कुर्मीलाई दुई वर्ष कैद सजाय सुनाएको थियो। उनीहरू पनि सजाय भुक्तान गरी कारागारमुक्त भइसकेका छन्।
मुख्य अभियुक्त १९ वर्षसम्म फरार
पत्रकार साहको हत्या प्रकरणमा अन्य अभियुक्त पक्राउ परे पनि लालबहादुर चौधरी धामी भने लामो समयसम्म फरार रहँदै आएका थिए। उनी घटनाका मुख्य योजनाकारमध्ये एक रहेको अभियोग लागेको थियो। २०७९ वैशाखमा सार्वजनिक भएको विवरणमा समेत उनी फरार रहेको उल्लेख थियो।
चौधरीलाई पक्राउ गरी कानुनी कारबाही गर्न नेपाल पत्रकार महासंघसहित पत्रकारिता क्षेत्रबाट निरन्तर माग हुँदै आएको थियो। साहको हत्यापछि नेपाल पत्रकार महासंघले घटनाको छानबिन गर्न समिति गठन गरेको थियो। महासंघको टोलीले २०६४ असोज २३ गते सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताको संलग्नता औँल्याइएको थियो।
घटनालाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार र मानवअधिकारसम्बन्धी संस्थाहरूले समेत दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै आएका थिए।
लामो समयदेखि फरार रहेका चौधरी अदालतमा उपस्थित भई पुर्पक्षका लागि कारागार चलान भएपछि करिब १९ वर्षदेखि न्यायको प्रतीक्षामा रहेको पत्रकार साह हत्या प्रकरणले नयाँ मोड लिएको छ।