वीरगन्ज । बाराको फेटा गाउँपालिका–३ मा आधारभूत अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादका क्रममा प्रहरीको गोली लागेर घाइते भएका बालकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
तिघ्राभन्दा माथिको भागमा गोली लागेर गम्भीर घाइते भएका फेटा गाउँपालिका–३ का अन्दाजी १४ वर्षीय आदित्य पासवानलाई आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो ।
वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत पासवानलाई थप उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।
शनिबार फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर विवाद हुँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर पासवान घाइते भएका थिए ।