काठमाडौँ । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडप र प्रहरीले चलाएको गोलीबारे छानबिन गर्न गठित समितिले काम सुरु गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिले आइतबारदेखि अनुसन्धान थालेको संयोजक ढकालले जानकारी दिनुभयो ।
अस्पताल उद्घाटनको विषयमा दुई पक्षबीच विवाद बढेपछि झडप भएको र प्रहरी घटनास्थल पुगेपछि प्रहरीमाथि नै आक्रमण भएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनकारीले १० वटा मोटरसाइकल जलाउनुका साथै अस्पतालको शिलालेख र कार्यक्रमस्थलको टेन्टमा तोडफोड गरेका थिए ।
घटनामा गोली लागेर स्थानीय युवा आदित्य पासवान गम्भीर घाइते हुनुभएको छ । पाँच प्रहरीसहित केही स्थानीय पनि घाइते हुनुभएको छ ।
घटनामा प्रहरीको बल प्रयोग र गोली चलाउनुपर्ने अवस्था तथा आदेशसम्बन्धी विषयमा समितिले अनुसन्धान गर्नेछ । घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय प्रसौनीका केही प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।
समितिमा प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक प्रकाशशंकर यादव सदस्य रहनुभएको छ । समितिलाई तीन दिनभित्र छानबिन सम्पन्न गर्ने गरी जिम्मेवारी दिइएको संयोजक ढकालले जानकारी दिनुभयो ।