निजगढ । कृषि ऐनको अभाव रहेकोले चाँडै कृषि ऐन ल्याउने तयारीमा सरकार रहेको सङ्घीय कृषिमन्त्री रामनाथ अधिकारीले बताएका छन् ।
मङ्गलवार निजगढमा पत्रकारहरूसँग कुरा गर्दै उनले केही दिनमैं कृषि ऐन प्रतिनिधिसभामा पेश गर्नेगरी मन्त्रालयले गृहकार्य गरिरहेको बताए । उनले कृषि ऐन आइसकेपछि किसानहरूका हित कानूनद्वारा सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताए । अहिले देश कृषिमा परनिर्भर बनेको र कम्तीमा नेपाल कृषिमा आत्मनिर्भर हुने गरी ऐन, कानून आउने उनले बताए ।
छिमेकी देश भारतसँगको खुला सीमाका कारण अवैधरूपमा भित्रने कृषिजन्य पदार्थ, पशुपक्षी, मासुजन्य वस्तुलगायतका कारण नेपाली कृषकहरूले वर्षौंदेखि उत्पादनको मूल्य पाउन नसकी विभिन्न समस्या झेलिरहेको बताए । उनले नेपाली कृषि उत्पादनको बजारीकरण र निकासीको लागि पनि अध्ययन भइरहेको दाबी गरे । अहिलेसम्म यो विषयमा सरकार अनभिज्ञ थियो तर अहिले यसबारेमा विचारविमर्शमा लागेको उनले बताए ।
मन्त्री अधिकारीले भने– “देश अहिले अत्यन्तै आर्थिक सङ्कुचनमा छ । अत्यन्तै अप्ठ्यारो अवस्थामा छ । सरकार विकासका कुनै नयाँ कार्य गर्ने अवस्थामैं छैन ।”
उनले नेपालमा अत्यन्तै उर्वरभूमि तराई–मधेस छ । मध्य पहाडी भूूभाग र हिमाली भेग पनि रहेकाले यी सबै ठाउँमा अनुकूल कृषि उत्पादन बढाउनेतर्फ राज्यले पहल गरिरहेको बताए ।
उनले कागजात मिलानका भरमा नक्कली कृषक बनेर कृषि अनुदान लिने दिन गएको बताउँदै इमानदारीका साथ कृषि कर्म गर्नेहरूको दिन आएको दाबी पनि गरे ।
यस वर्ष रासायनिक मलको अभाव हुन नदिन विगतका झन्झटिला कानूनलाई परिमार्जन गरिएकोले अब मलको अभाव नहुने बताए ।
पत्रकारहरूको प्रश्नमा उनले अहिलेको शासन व्यवस्था ढल्ने र राजा आउने कुरामा कुनै तुक नभएको बताए । उनले यी हल्लाका कुराहरू हुन्, यसको पछाडि लाग्नुको अर्थ नरहेको बताए ।
कृषिमन्त्री अधिकारीलाई कोल्हवी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीले कृषकहरूका अनेकन समस्या सामधान गर्न आग्रह गर्दै माछा जोनका रूपमा रहेका बोधवनलगायत जिल्लाका माछा कृषकहरूका समस्यालाई विशेषरूपमा सम्बोधन गर्न ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुुझाएका थिए । यसैगरी, नेपाल विद्यार्थी सङ्घ निजगढ नगर कार्यसमितिले पनि बाराका दुुग्ध उत्पादन कृषकहरूले भुुक्तानीको समस्या भोग्दै आइरहेको र अन्य किसानका समस्याहरू समाधान गर्न ज्ञापनपत्र बुुझाएको थियो ।
कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री वीरेन्द्र सिंह, प्रदेशसभा सदस्य मीना लामा, निजगढ नपाका पूर्वप्रमुख सुरेश खनाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाराका वरिष्ठ कृषि अधिकृत डा हरेराम यादव, निजगढका वडाध्यक्षहरू ज्ञानबहादुुर गोले, रामचन्द्र कटुुवाल, सहइया गुुरो, युवा कृषक हीरा थापालगायतको सहभागिता थियो ।