काठमाडौं । भारत-पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेको छ । लगातार दोस्रो दिन बिहीबार राति पाकिस्तानले ड्रोन र मिसाइल आक्रमणमार्फत् भारतका विभिन्न संवेदनशील क्षेत्रहरूलाई निशाना बनाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । जम्मु-कश्मीर, पञ्जाब, राजस्थान र गुजरातका अनेकौं स्थानहरूमा यी आक्रमणहरू भएको पुष्टि गरिएको छ ।
भारतीय सेनाका अनुसार पाकिस्तानले आत्मघाती ड्रोनसहित आठवटा मिसाइल आरएसपुरा, सतवारी, साम्बा र अरनियातर्फ दागेको थियो । तर भारतले अत्याधुनिक एस–४०० एयर डिफेन्स प्रणाली प्रयोग गरेर सबै आक्रमण निष्फल बनाएको दाबी गरिएको छ ।
यसअघि बुधबार राति पनि जम्मु र पठानकोटका सैन्य ठेगानाहरूमा पाकिस्तानले आत्मघाती ड्रोनमार्फत आक्रमण गरेको थियो । लगातार दुई दिनसम्म उही स्थानहरूलाई पुनः लक्षित गर्दै आक्रमण गरिएको रक्षा स्रोतहरूले जनाएका छन् ।
कश्मीर सीमा क्षेत्रमा गोली हानाहान
यसैबीच, कश्मीरको आरएसपुरा सेक्टर, कुपवाडा र बारामुल्ला नजिक नियन्त्रण रेखा (एलओसी) आसपास पाकिस्तानबाट गोली प्रहार गरिएको भारतीय पक्षको दाबी छ। आरएसपुरा क्षेत्रमा दोहोरो गोली हानाहान जारी रहेको बताइएको छ ।
केही क्षेत्रमा ब्ल्याकआउट घोषणा
सुरक्षाका दृष्टिले भारतले जम्मु-कश्मीर, राजस्थान, पञ्जाब र गुजरातका संवेदनशील सहरहरूमा ब्ल्याकआउट गरेको छ । प्रभावित क्षेत्रहरूमा जम्मु, उधमपुर, किश्तवाड, श्रीनगर, अनन्तनाग, बाडमेर, बिकानेर, श्रीगंगानगर, चण्डीगढ, अमृतसर, जालन्धर, होशियारपुर, पठानकोट, भुज र कच्छ समावेश छन् ।
भारतीय सेनाले बुधबार बिहान ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तानको केही एयर डिफेन्स संरचना ध्वस्त बनाएको दाबी गरेको थियो । त्यसको जवाफस्वरूप बुधबार राति र बिहीबार पाकिस्तानले भारतका १५ भन्दा बढी सैन्य ठेगानाहरूमा हमला प्रयास गरेको भारतीय रक्षा स्रोतहरूको भनाइ छ । पाकिस्तानले भने भारतको दाबीलाई खण्डन गर्दै कुनै क्षति नभएको बताएको छ ।
यसबीच, आक्रमणमा पाकिस्तानले इजरायलबाट प्राप्त ‘हार्पी’ ड्रोन प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको दाबी पनि गरिएको छ ।
भारतको रक्षा प्रणाली सतर्क
भारतीय सेनाको इन्टिग्रेटेड डिफेन्स स्टाफले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर)मार्फत् एक वक्तव्य जारी गर्दै भन्यो, ‘पाकिस्तानतर्फबाट जम्मु, पठानकोट र उधमपुरका सैन्य स्टेशनहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन दागिएको थियो । तर भारतको वायु रक्षा प्रणालीले ती सबै आक्रमण निष्फल बनाएको छ । कुनै प्रकारको क्षति भएको छैन ।’
दुई देशबीचको यो नयाँ सैन्य तनावले दक्षिण एसियाली क्षेत्रको शान्तिमा गम्भीर चुनौती खडा गरेको विश्लेषकहरू बताइरहेका छन् ।