अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन् ।
बिहीबार ह्वाइट हाउसमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरा साथी हुन् । हाम्रो सम्बन्ध निकै राम्रो छ ।’
उनले थपे, ‘भारतले रूसबाट तेल किन्दा म खुसी थिइनँ, तर आज मोदीजीले मलाई भारतले अब रूसबाट तेल नकिन्ने आश्वासन दिएका छन् । यो ठूलो कदम हो । अब हामीले चीनलाई पनि यस्तै गर्न लगाउनु पर्छ ।’
अमेरिकाले अगस्ट २०२५ मा रूसबाट तेल किनेको भन्दै भारतलाई २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाइसकेको छ । यसअघि अमेरिकाले २५ प्रतिशत ‘रेसीप्रोकल’ भन्सार शुल्क लगाइसकेको थियो । यसरी भारतमाथि कुल ५० प्रतिशत भन्सार शुल्क पुगेको छ ।
मिडियाको प्रश्नमा ट्रम्पले भने, ‘हालै अमेरिकाका नयाँ राजदूत बन्न लागेका सर्जियो गोर र मोदीबीच भेट भयो । त्यसपछि सर्जियोले मलाई भने– मोदीले ट्रम्पलाई माया गर्छन् । तर म चाहन्छु, ‘माया’ भन्ने शब्दलाई गलत अर्थ नलगाइयोस्, म कसैको राजनीतिक करियर बिगार्न चाहन्न ।’
उनले अगाडि थपे, ‘मैले वर्षौंदेखि भारतलाई हेर्दै आएको छु । त्यहाँ प्राय: हरेक वर्ष सरकार बदलिन्छ । तर मेरा साथी मोदी त्यहाँ लामो समयदेखि छन् । उनले अब भारतले रूसबाट तेल नकिन्ने आश्वासन दिए । यद्यपि यो तुरुन्तै रोकिने होइन, तर प्रक्रिया सुरु भइसकेको छ ।’
फेब्रुअरी २०२२ मा रूस–युक्रेन युद्ध सुरु भएपछि युरोपले रूसी तेलमा प्रतिबन्ध लगायो । त्यसपछि रूसले तेल बिक्री एशियातर्फ मोड्यो ।