वीरगञ्ज । पर्सा जिल्लामा हुण्डी तथा सुनचाँदीको अवैध कारोबार भइरहेको चर्चा बढ्दै गए पनि जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो समय गरेका कारबाही, बरामद रकम तथा अनुसन्धानको प्रगतिबारे स्पष्ट विवरण सार्वजनिक नगरेपछि प्रहरीको कार्यशैली र सूचना प्रवाहमाथि प्रश्न उठ्न थालेका छन्।
यसअघि जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारविरुद्ध सञ्चालन गरेका विभिन्न कारबाही, बरामद नगद रकम, पक्राउ परेका व्यक्तिहरू तथा अनुसन्धानको अवस्थाबारे सञ्चारमाध्यममार्फत नियमित जानकारी गराउने गरेको थियो। तर पछिल्लो समय यस्ता विवरण सार्वजनिक हुन छाडेपछि प्रहरीको हुण्डी नियन्त्रण अभियानको प्रभावकारितामाथि स्थानीयवासी, व्यवसायी तथा सञ्चारकर्मीले चासो व्यक्त गर्न थालेका छन्।
वीरगञ्ज–रक्सौल खुला सीमा क्षेत्र हुँदै हुण्डी तथा अन्य अवैध आर्थिक कारोबार हुने गरेको चर्चा भइरहँदा प्रहरीले त्यसविरुद्ध गरेका कारबाहीको विवरण सार्वजनिक नगर्नु आफैँमा प्रश्न उठाउने विषय बनेको छ।
विशेषगरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन भट्टराई र प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लको कार्यकालमा हुण्डी कारोबार तथा अवैध सुनचाँदी कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेको र ठूलो परिमाणमा रकम वा सुनचाँदी बरामद भएको आधिकारिक विवरण सार्वजनिक हुन सकेको छैन।
के पर्सामा हुण्डी कारोबार पूर्ण रूपमा नियन्त्रणमा आएको हो? अवैध सुनचाँदी कारोबार रोकिएको हो? अथवा यस्ता गतिविधिविरुद्ध कारबाही भए पनि त्यसको विवरण सार्वजनिक गर्न प्रहरी किन हिचकिचाइरहेको छ? यी प्रश्नको जवाफ जिल्ला प्रहरी कार्यालयले दिनुपर्ने देखिन्छ।
यसअघि हुण्डी कारोबारसम्बन्धी समाचार सार्वजनिक भएको भोलिपल्टै पर्सा प्रहरीले त्यसमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको विवरण सार्वजनिक गरेको थियो। तर त्यसपछि भने यस्ता कारबाहीको निरन्तरता र अनुसन्धानको प्रगतिबारे कुनै स्पष्ट जानकारी बाहिर आएको छैन। यसले प्रहरीको सक्रियता र सूचना व्यवस्थापनमाथि थप जिज्ञासा उत्पन्न गरेको छ।
खुला सीमाको संवेदनशीलता र वीरगञ्जको आर्थिक गतिविधिलाई मध्यनजर गर्दा हुण्डी तथा अवैध सुनचाँदी कारोबार नियन्त्रण गर्नु प्रहरीको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्ता गतिविधिले राजस्व चुहावट, अवैध आर्थिक कारोबार र वित्तीय अपराधलाई प्रोत्साहन गर्न सक्ने भएकाले प्रहरीको निगरानी र अनुसन्धान प्रभावकारी हुन आवश्यक छ।
अझ सार्वजनिक निकायले गरेका कारबाहीबारे सञ्चारमाध्यम र नागरिकलाई जानकारी दिनु पारदर्शिता तथा जवाफदेहिताको आधार हो। बरामद रकम, पक्राउ परेका व्यक्ति, मुद्दाको अवस्था र अनुसन्धानको प्रगतिबारे आधिकारिक जानकारी नआउँदा प्रहरीको कामकारबाहीबारे अनावश्यक आशङ्का र अड्कलबाजी बढ्ने जोखिम रहन्छ।
यसअघि तत्कालीन प्रहरी उपरीक्षक सुदीपराज पाठक र सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतको कार्यकालमा समेत हुण्डी नियन्त्रणसम्बन्धी विवरण सार्वजनिक हुन छाडेको विषय उठेको थियो। अहिले नेतृत्व परिवर्तन भए पनि सूचना प्रवाह र पारदर्शितामा अपेक्षित सुधार नदेखिएको भन्दै प्रश्न उठ्न थालेको छ।
स्थानीय व्यवसायी तथा सरोकारवालाले पर्सा प्रहरीले हुण्डी र सुनचाँदीको अवैध कारोबार नियन्त्रणका लागि गरेका वास्तविक कारबाही सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। उनीहरूले प्रहरी नेतृत्वले बरामद रकम, पक्राउ परेका व्यक्तिहरू, दर्ता भएका मुद्दा तथा अनुसन्धानको अवस्थाबारे स्पष्ट विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन्।
प्रहरीको सफलता केवल अपराध नियन्त्रणमा मात्र होइन, आफ्नो कामकारबाहीप्रति जनतालाई विश्वास दिलाउन सक्ने पारदर्शितामा पनि निर्भर हुन्छ। त्यसैले एसपी पवन भट्टराई र प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले हुण्डी तथा अवैध सुनचाँदी कारोबार नियन्त्रणमा हालसम्म भएका कारबाहीबारे सार्वजनिक रूपमा स्पष्ट जवाफ दिन आवश्यक देखिएको छ।