वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयरका प्रत्याशी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेलले स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा संवादलाई निरन्तरता दिएका छन्।
यसैक्रममा शुक्रबार वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा उनले स्थानीय जनसमुदायसँग भेटघाट तथा छलफल गरेका छन्। दीपावली तथा छठ पर्वको अवसरमा स्थानीयवासीसँग शुभकामना आदानप्रदान गर्दै पटेलले उनीहरूका समस्या, गुनासा, आवश्यकता र सुझावबारे जानकारी लिएका हुन्।
भेटघाटका क्रममा स्थानीयवासीले आफ्नो टोल तथा वडामा रहेका विभिन्न समस्या र विकास निर्माणसँग सम्बन्धित विषय उठाएका थिए। पटेलले स्थानीयका गुनासा तथा सुझाव गम्भीरतापूर्वक सुन्दै उनीहरूका वास्तविक आवश्यकता र अपेक्षा बुझ्ने प्रयास गरेका थिए।
उनले जनतासँगको प्रत्यक्ष भेटघाट र संवाद स्थानीय समस्या पहिचान गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै जनताको आवाज र सुझावलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
सो अवसरमा पटेलले दीपावली तथा छठ पर्वले समाजमा आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्नुका साथै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
स्थानीयस्तरमा जनतासँग निरन्तर संवाद गरी उनीहरूका समस्या र सुझाव संकलन गर्ने उद्देश्यले भेटघाटलाई निरन्तरता दिँदै आएको पटेलले बताएका छन्।