वीरगन्ज । प्रत्येक वर्षझैँ शुभ दीपावली २०८३ को पूर्वसन्ध्यामा वीरगन्ज कपडा बैंकले बिहीबार वीरगन्जको घण्टाघरस्थित स्व. रामजनम तिवारी बाबाको सालिक परिसरमा निःशुल्क कपडा वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा करिब ८ सय थान नयाँ तथा पुराना कपडा वितरण गरिएको बैंकका कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए।
“तपाईंसँग धेरै छ भने हामीलाई दिनुहोस् र तपाईंसँग कमी छ, आवश्यकता छ भने हामीसँग निःशुल्क लिएर जानुहोस्” भन्ने नाराका साथ बैंकले विगत सात वर्षदेखि सामाजिक सेवाको अभियान सञ्चालन गर्दै आएको छ। बैंकले आफ्नो कार्यालय वीरगन्ज–८ बाट प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ५ः३० बजेसम्म र शनिबार दिउँसो १ बजेसम्म विपन्न तथा असहाय व्यक्तिहरूलाई निःशुल्क कपडा उपलब्ध गराउँदै आएको छ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
त्यसैगरी, विशिष्ट अतिथिहरूमा बैंकका सल्लाहकार तथा नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष अधिवक्ता पन्नालाल गुप्ता, सल्लाहकार एवं निवर्तमान अध्यक्ष तथा समाजसेवी रम्भा मिश्र, सल्लाहकार तथा समाजसेवी अधिवक्ता प्रकाश उपाध्याय, सल्लाहकार एवं सामाजिक अभियन्ता ओमप्रकाश सर्राफ र सल्लाहकार तथा समाजसेवी नागेन्द्र सिंहको उपस्थिति रहेको थियो।
कार्यक्रममा पर्सा बारका सदस्य अधिवक्ता आशुतोष तिवारी, युवा समाजसेवी हुकुम सिंह राजपुत, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, आईज नेपालका कोषाध्यक्ष रुपशिला जैसवाल, समाजसेवी प्रमोद यादव, बैंकका सदस्यहरू निला राम, नवराज भट्टराई, जानकी देवी, शिव श्रेष्ठ, सुरज श्रीवास्तव, कर्मचारी मिथिलेश श्रीवास्तव लगायत सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिवक्ता कुर्मीले ‘कोही नाङ्गो नरहोस्’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै वीरगन्ज कपडा बैंकले विगत सात वर्षदेखि निरन्तर सामाजिक सेवा गर्दै आएको बताए।
उनले बैंकले प्रत्येक दिन आफ्नो कार्यालयमार्फत तथा प्रत्येक महिना घण्टाघरलगायत विभिन्न स्थानमा पुगेर विपन्न, असहाय तथा आगलागी, बाढी जस्ता प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई लत्ताकपडासहित अन्य आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिए।
बडादशैँ, शुभ दीपावली, छठलगायतका चाडपर्वमा आर्थिक अभावका कारण नयाँ लुगा लगाउन नपाएका व्यक्ति तथा परिवारलाई लक्षित गरी बैंकले नयाँ तथा नयाँजस्तै प्रयोग गर्न मिल्ने कपडा वितरण गर्दै आएको उनले बताए।
दानवीर तथा सहयोगी दाताहरूले बैंकमार्फत सामाजिक सेवा गर्न चाहेमा आफूहरू सहकार्य गर्न सधैँ तयार रहेको उल्लेख गर्दै उनले सक्षम व्यक्तिहरूले आफ्नो आसपासका विपन्न तथा असहायलाई सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए। साथै, उनले सबैमा शुभ दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरे।
कार्यक्रममा उपस्थित विशिष्ट अतिथि तथा अतिथि वक्ताहरूले ‘कोही नाङ्गो नरहोस्’ भन्ने उद्देश्यका साथ वीरगन्जदेखि ग्रामीण क्षेत्रसम्म पुगेर विपन्न, असहाय तथा पीडित परिवारलाई नयाँ तथा पुराना कपडा उपलब्ध गराउँदै आएको वीरगन्ज कपडा बैंकको अभियानको प्रशंसा गरे।
उनीहरूले समाजका सीमान्तकृत, विपन्न तथा असहाय वर्गको सेवा र सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै बैंकको सामाजिक सेवामूलक अभियानमा सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, उनीहरूले बैंकको यस पुण्य कार्यमा निरन्तर साथ र सहयोग गर्न सबैलाई आग्रह गर्दै शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गरे।
कार्यक्रमको अध्यक्षता गर्दै बैंकका अध्यक्ष लालबाबु सिंहले चाडपर्वका समयमा आर्थिक अभावमा रहेका विपन्न तथा असहाय परिवारको पीडा अझ बढ्ने भएकाले उनीहरूको अनुहारमा मुस्कान ल्याउने उद्देश्यले बैंकले सक्दो सहयोग गर्दै आएको बताए।
मानवता बलियो बनाउने उद्देश्यसहित सञ्चालन भइरहेको बैंकको अभियानमा सहयोग पुर्याउने सम्पूर्ण दाता, सल्लाहकार, शुभेच्छुक, कार्यक्रममा सहभागी पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीहरूप्रति उनले आभार व्यक्त गरे। साथै, उनले सम्पूर्णमा शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरे।