पर्सा । पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख भएभन्दा बढी परिमाणमा माछा लोड गरी ओसारपसार गर्दै गरेको अवस्थामा एक ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर तथा प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा मंगलबार (कार्तिक १८ गते) राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट ट्रक नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएको प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको टाटा कम्पनीको सेतो र कालो रङको मालवाहक ट्रक जाँच गर्ने क्रममा भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख भएको पाइएको थियो। तर, ट्रकमा कागजातमा उल्लेख भएभन्दा ४४ क्यारेट बढी माछा लोड गरिएको फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले ट्रकमा लोड गरिएको माछासहित ट्रकका चालकलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय रबी कुमार साह रहेका छन्।
प्रहरीका अनुसार बरामद गरिएको माछा र ट्रकको कुल मूल्याङ्कन ३२ लाख ११ हजार ३ सय ९२ रुपैयाँ कायम गरिएको छ।
नियन्त्रणमा लिइएका चालक, ट्रक तथा बरामद माछालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि बुधबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।