वीरगन्ज । चितवनमा प्रहरीले ठूलो परिमाणमा पटाकासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत मोतिहारीका ४१ वर्षीय सञ्जय साह तेली र २९ वर्षीय राज जैसवाल उर्फ कन्हैया कुमार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३ बाट उनीहरूलाई ८० हजार ३७२ थान विभिन्न प्रकारका पटाकासहित पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूको साथबाट झिरझिरे, खुर्सानी, चक्र, रकेटलगायतका पटाका बरामद गरेको जनाएको छ। बरामद पटाकाको अनुमानित बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, पक्राउ परेका दुवै जनाको साथबाट १ लाख ७२ हजार ३०० रुपैयाँ नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रहरीले बरामद पटाका र नगदसहित दुवै जनामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।