वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठाबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको भन्दै सशस्त्र प्रहरीले सार्वजनिक गरेको दाबीमाथि प्रश्न उठेको छ ।
पक्राउ परेका व्यक्तिहरूले आफूहरू कपडा कारखानामा मजदुरी गरी तिहार र छठ मनाउन घर फर्किंदै गरेको तथा उनीहरूको साथबाट बरामद भएको भनिएका सामान सामान्य घरायसी प्रयोजनका भएको बताएका छन्।
सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) प्रसौनीभाठाबाट खटिएको टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिई उनीहरूको साथबाट पेस्तोल, गोली र छुरा बरामद गरेको दाबी गरेको थियो।
तर पक्राउ परेका व्यक्तिका आफन्त तथा स्थानीयले उक्त दाबीको वास्तविकतामाथि प्रश्न उठाउँदै बरामद भनिएका सामान खेलौना तथा घरायसी प्रयोजनका वस्तु भएको बताएका छन् ।
प्राप्त विवरणअनुसार भारतको महाराष्ट्रस्थित सुरतमा रहेको एक कपडा कारखानामा मजदुरी गर्दै आएका बहुदरमाई नगरपालिका–२ ध्यानसिंह पिपराका बृजेश साह कानु तिहार र छठ पर्व मनाउन घर फर्किंदै थिए। उनीसँग बालबालिकाका लागि खेलौना पेस्तोल, सोनपापडी मिठाई, चार प्याकेट खजुर, तीन डिब्बा मह, केही घरायसी औषधि, भान्सामा प्रयोग हुने तीन थान चक्कु तथा मजदुरी गरेर कमाएको रकम रहेको बताइएको छ ।