लालबाबु बानियाँ / पर्सा । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियानअन्तर्गत पर्सा जिल्लामा करिब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र ७२ हजार १०० बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो। यससँगै बालभिटा वितरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ।
अभियानको पहिलो दिन पर्साको कालिकामाई गाउँपालिकामा जनस्वास्थ्य अधिकृत रानी पण्डितले विभिन्न स्थानमा पुगेर पोषण कार्यक्रमको अनुगमन गर्नुभएको थियो।
कालिकामाई गाउँपालिकाका स्वास्थ्य संयोजक धिरज कुमार गुप्ताका अनुसार गाउँपालिकाभरि २ हजार ८०० बालबालिकालाई भिटामिन ‘ए’ र २ हजार ४०० बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको छ। कार्यक्रम कात्तिक १७ र १८ गतेसम्म सञ्चालन हुनेछ।
त्यसैगरी, जनस्वास्थ्य कार्यालय पर्साका पोषण कार्यक्रम प्रमुख अनिल मिश्राका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा निम्न लक्ष्य निर्धारण गरिएको छ।
- छिपहरमाई गाउँपालिका : भिटामिन ‘ए’ ३ हजार ६०० र जुकाको औषधि ४ हजार।
- जगरनाथपुर गाउँपालिका : भिटामिन ‘ए’ ४ हजार ४०० र जुकाको औषधि ४ हजार।
- ठोरी गाउँपालिका : भिटामिन ‘ए’ २ हजार ६०० र जुकाको औषधि १ हजार ८००।
- पोखरिया नगरपालिका : भिटामिन ‘ए’ ५ हजार र जुकाको औषधि ४ हजार ४००।
- जिराभवानी गाउँपालिका : भिटामिन ‘ए’ २ हजार ८०० र जुकाको औषधि २ हजार ४००।
- कालिकामाई गाउँपालिका : भिटामिन ‘ए’ २ हजार ८०० र जुकाको औषधि २ हजार ४००।
- सखुवाप्रसौनी गाउँपालिका : भिटामिन ‘ए’ ४ हजार र जुकाको औषधि ४ हजार।
- पटेर्वासुगौली गाउँपालिका : भिटामिन ‘ए’ २ हजार ८०० र जुकाको औषधि २ हजार ६००।
- बहुदरमाई नगरपालिका : भिटामिन ‘ए’ ५ हजार ४०० र जुकाको औषधि ४ हजार ५००।
- पर्सागढी नगरपालिका : भिटामिन ‘ए’ २ हजार ६०० र जुकाको औषधि २ हजार ६००।
- पकाहामैनपुर गाउँपालिका : भिटामिन ‘ए’ २ हजार ८०० र जुकाको औषधि २ हजार ५००।
- धोबिनी गाउँपालिका : भिटामिन ‘ए’ ३ हजार ४०० र जुकाको औषधि ३ हजार।
- बिन्दवासिनी गाउँपालिका : भिटामिन ‘ए’ २ हजार ८०० र जुकाको औषधि २ हजार ५००।
- वीरगञ्ज महानगरपालिका : भिटामिन ‘ए’ ३३ हजार र जुकाको औषधि ३० हजार।
यसअघि हरेक वर्ष कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको पहिलो चरणको कार्यक्रम यस वर्ष दसैँको सार्वजनिक बिदाका कारण मिति परिवर्तन गरी कात्तिक १७ र १८ गते सञ्चालन गरिएको हो।
नेपाल सरकारले बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले हरेक वर्ष दुई चरणमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। पहिलो चरण कात्तिकमा र दोस्रो चरण वैशाख ६ र ७ गते सञ्चालन हुने गरेको छ।
जनस्वास्थ्य कार्यालय पर्साका पोषण कार्यक्रम प्रमुख अनिल मिश्राका अनुसार बालबालिकालाई विभिन्न रोगबाट बचाउन तथा उनीहरूको पोषण अवस्था सुधार गर्न यो अभियान सञ्चालन गरिएको हो।
सरकारले आफ्ना बालबालिकालाई उमेरअनुसार नजिकैको स्वास्थ्य संस्था तथा तोकिएका वितरण केन्द्रमा लगेर भिटामिन ‘ए’, जुकाको औषधि तथा बालभिटा खुवाउन अभिभावकलाई आग्रह गरेको छ।