भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
सोमबार अपराह्न नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा ईभी कारलाई निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
कार चेकजाँचका क्रममा ३३ लाख रुपैयाँ नगद बरामद भएपछि चालक, कारमा सवार भुवन ढुङ्गेल र उनकी श्रीमतीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ।
त्यसपछि अख्तियारको टोलीले नगरपालिकाको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई नियन्त्रणमा लिएर घटनास्थलमा ल्याएको थियो।
अख्तियारको दाबीअनुसार उक्त रकम घिमिरेले घुसबापत लिई व्यवस्थापनका लागि भुवन ढुङ्गेललाई दिएका थिए। तर घिमिरेले भने घुस लिएको आरोप अस्वीकार गरेका छन्।
हाल घटनास्थलमा मुचुल्का तयार पार्ने काम भइरहेको छ। घटनाबारे थप अनुसन्धान तथा विवरण आउन बाँकी रहेको छ।