वीरगन्ज । मुलुककै प्रमुख नाका वीरगन्ज भन्सार कार्यालयले करिब चार वर्षपछि राजस्व सङ्कलनको लक्ष्य पूरा गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पछिल्लो दुई महिनादेखि लगातार लक्ष्य पूरा गर्दै आएको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालका अनुसार भन्सार विभागले दिएको मासिक लक्ष्य विगत लामो समय (५० महिना) देखि भेट्न नसके पनि पछिल्लो दुई महिनादेखि पूरा गर्दै आएको हो ।


कोभिड महामारी, अन्तर्राष्ट्रिय आर्थिक सङ्कटलगायतका विभिन्न आर्थिक उतारचढावका कारण आयात निर्यातमा कमी आएपछि विगत चार वर्षदेखि कार्यालयले लक्ष्य अनुसार लक्ष्य पूरा गर्न सकेको थिएन । चालु वर्षको साउनमा विभागले दिएको २० अर्ब ५८ करोड राजस्व सङ्कलन लक्ष्यको ९१.२४ प्रतिशत अर्थात् १८ अर्ब ७७ करोड रुपियाँ असुली गरेको थियो । भदौमा २३ अर्ब ५२ करोड रुपियाँ लक्ष्य रहेकोमा त्यसको १००.४२ अर्थात् २३ अर्ब ६१ करोड ९७ रुपियाँ भन्सार सङ्कलन गर्न सफल भएको छ । असोजमा भने कार्यालयले २६ अर्ब ४६ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य पाएकोमा त्यसको १००.२१ प्रतिशत अर्थात् २६ अर्ब ५१ करोड ५९ लाख रुपियाँ सङ्कलन गरेको जनाएको छ ।
आव २०७८/७९ को जेठयता वीरगन्ज भन्सार कार्यालयले कुनै पनि महिना भन्सार विभागले दिएको मासिक लक्ष्यहरू पूरा गर्न सकेको थिएन ।