वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ लिंकरोडबाट मोटरसाइकल चोरी गरेर भाग्दै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–११ निवासी २७ वर्षीय राकेश चौधरी रहेका छन्।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका विकास कुमार कुशवाहाको नाममा दर्ता रहेको मधेस प्रदेश ०३–०३५ प ७१७५ नम्बरको २२० सीसीको रातो–कालो पल्सर मोटरसाइकल सडकछेउमा पार्किङ गरिएको थियो।
आज बिहान करिब ९ः३० बजे मोटरसाइकलको लक तोडेर डोर्याउँदै भागिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले चौधरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ।