वीरगन्ज । भोजपुरी भाषा, कला, साहित्य, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्जमा ‘वीरगन्ज साहित्य महोत्सव’ आयोजना हुने भएको छ।
वीरगन्ज साहित्य महोत्सव आयोजक समितिको आयोजनामा कात्तिक १८ गते बुधबार वीरगन्जस्थित गहवामाई मन्दिर परिसरमा महोत्सव हुन लागेको हो।
आयोजक समितिका अनुसार महोत्सवमा भोजपुरी भाषामा कला, कविता, गीत, नृत्य तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिनेछ। प्रतियोगितामार्फत विद्यालय तहका विद्यार्थी तथा युवामा रहेको प्रतिभा उजागर गर्नुका साथै नयाँ पुस्तालाई मातृभाषा, मौलिक संस्कृति र परम्परासँग जोड्ने लक्ष्य राखिएको छ।
नेपालको तराई–मधेस क्षेत्रको महत्वपूर्ण सांस्कृतिक पहिचानका रूपमा रहेको भोजपुरी भाषाको साहित्यिक, सांगीतिक तथा कलात्मक पक्षको संरक्षण र विस्तारमा महोत्सवले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थी, कलाकार, साहित्यकार, भाषा तथा संस्कृतिप्रेमी र स्थानीय समुदायको उल्लेख्य सहभागिता रहने आयोजक समितिले विश्वास व्यक्त गरेको छ।
महोत्सवलाई राष्ट्रिय इन्फोटेक कलेज, वीरगन्ज महानगरपालिका र पटेर्वा सुगौली गाउँपालिकालगायतका संस्थाले सहयोग गरेका छन्।
आयोजक समितिले भोजपुरी भाषाको आफ्नै लिपि कैथीको पहिचान र प्रवर्द्धन, कला, साहित्य तथा संस्कृतिको संरक्षणमा रुचि राख्ने सम्पूर्णलाई महोत्सवमा सहभागी हुन आह्वान गरेको छ।